छाँया सरकारको अवधारणा सहितको संसदीय दलको विधान पारित

काठमाडौं

    फाल्गुन १२, २०७४

    नेपाली कांग्रेसले छाँया सरकारको अवधारणा सहितको संसदीय दलको विधान पारित गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संघीय सांसदको बैठकले नेता मिनेन्द्र रिजाल नेतृत्वको समितिले तयार बनाएको विधान संसोधन सहित पारित गरेको हो । केन्द्र सरकारले गरेका काम कारवाहीको निगरानी गर्ने क्षेत्राधिकार सहितको छाँया सरकार बनाउने व्यवस्था कांग्रेसले विधानमा उल्लेख गरेको हो ।

    सो समितिले तयार बनाएको मस्यौदामा संसदीय कार्यसमितिमा समावेसिता सहित एक तिहाई महिलाको उपस्थिति सुनिश्चित गरिएको उल्लेख छ । संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै सो कार्यसमिति पनि समावेशी बनाउने निर्णय गरेको नेता रिजालले जानकारी दिनुभयो । तत्कालीन व्यवस्थापिका संसदमा भन्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको आकार सानो भएकाले संसदीय कार्यसमितिको आकार पनि सानो बनाउने विधानमा उल्लेख गरिएको रिजालले बताउनुभयो । यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रतिनिधिको भूमिका पनि समान रहने व्यवस्था विधानमा गरिएको छ । संसदीय दलको नेता चयनमा भने प्रतिनिधि सभाका सदस्यले मात्र मतदान गर्न पाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।

    प्रतिनिधि सभाको संसदीय दलको नेताले राष्ट्रिय सभाको संसदीय दलको नेता मनोनयन गर्ने भएकाले राष्ट्रिय सभाका सदस्यले दलको नेता चयनमा मतदान गर्न नपाउने व्यवस्था विधानमा राखिएको नेता रिजालले जानकारी दिनुभयो । भोली बस्ने केन्द्रीय कार्यसमिति बैठकले विधान अनुमोदन गर्ने कांग्रेसले जनाएको छ । केन्द्रीय कार्यसमितिले संसदीय दलको विधान अनुमोदन गरी निर्वाचन मण्डल गठन गरेपछि दलको नेता छनौट प्रक्रिया अघि बढ्ने छ । यस्तै बैठकले राष्ट्रिय सभाका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेको नाम राष्ट्रपतिले अनुमोदन नगरी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पठाएको नाम अनुमोदन गरेकोप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिको सो कदम असंवैधानिक भएको कांग्रेसको ठहर छ ।     

     

    प्रकाशित:फाल्गुन १२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्