विराटनगरमा ‘मुनामदन’

- देवनारायण साह, मोरङ

    फाल्गुन १२, २०७४

     विराट आदर्श साहित्य मञ्चले आरोहण गुरुकुल विराटनगरमा शनिवार देखि ‘मुनामदन’ नाटक मञ्चन सुरु गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्यलाई दिपक कट्वालले नाटकमा रुपान्तरण गरेको हो । सुदिप कार्कीको निर्देशन रहेको नाटकमा रंगकर्मीहरुको बेजोड प्रस्तृति रह्यो । रंगकर्मीहरुको जीवन्त प्रस्तुतिले दर्शक रुन बाध्य भएका थिए । रंगकर्मीहरुले बियोगान्त मुनामन नाटकको करुण रस दर्शकलाई आश्वादन गराउन सफल भएका थिए । कार्कीको निर्देशनमा यो दोस्रो नाटक सफलता पूर्वक मञ्चन भएको हो । यसअघि ‘छिडी’ नाटकमा उनले सफल निर्देशन गरेका थिए । नाटकमा प्रकाश पाश्र्व ध्वनी संयोजन पनि बेजोडको रह्यो । 

    गुरुकुलको शुशिला नाटक घरमा मञ्चन भइरहेको मुनामदन नाटकमा मदन मुनालाई घरमा छोडेर रोजगारीका लागि लहासा गइरहेको दृष्यबाट दर्शक रुन बाध्य भएका थिए । लहासाबाट मदन फर्किने क्रममा बिरामी पर्दा साथीले बीच बाटोमा छोडेर हिँड्नु, भोटेले उठाएर आफ्नो घर लग्नु, मानेले मदन भीडबाट लडेर मरेको मुना सुनाएको खबर, मदन भोटेको घरबाट विदा हुने बेला र घर फर्किदा आमा मर्न र मुना मरेको खबरले मदन पनि मरेको दृष्यले दर्शकको मन छोएको थियो । नाटकमा मुनाको सरु कट्बालले, मदनको लकेश दंगाल, भोटेको मानाहाङ लावती, दिदीको अनु श्रेष्ठ, भोटेको छोराको प्रविण राई, भोटेको छोरीको जिना राई, मानेको निशान राई, आमाको सबिता भट्टराई, गगनेको सन्जित राई, कान्छाको विवेक आचार्य र ठूलेको लकेश राईले भूमिका निर्वाह गरेका थिए । 

    कमल पोख्रेलको नाट्य संयोजनमा सन्देश बाराकोटी, कबिता बराल, रन्धोज लावतीले व्यबस्थान गरेका थिए । नाट्य संयोजक कमलले अनु र मानाहाङ बाहेक सबै कलाकार पहिलो पटक मञ्चमा चढेको बताए । उनले उनीहरुको नाटकप्रतिको समर्पण भावले बेजोड प्रस्तुति भएको बताए । उनले युवा पुस्तालाई साहित्य र कला क्षेत्रमा सहभागिता अभिवृद्धिको उद्देश्यले विराट आदर्श मञ्चले नाटक लगायत साहित्यिक गतिविधिमा स्कूल र कलेजका विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको बताए । उनले त्यही सृङ्खलाको यो नाटकमा भएका सहभागी कलाकारहरु पनि एक भएको बताए । उनले तीन दिनसम्म मञ्चन हुने उक्त नाटक दिउँसो १२ र ३ बजेदेखि दुई शो चल्ने बताए । उनले नाटक हेर्न विद्यार्थीको लागि १ सय र अन्यको लागि २ सयको टिकको व्यवस्था गरेको छ । 

    प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नाटकको उद्घाटन पछि भाषा, साहित्य, कला, संस्कृति क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका लागि आवश्यक नीति, नियम बनाएर अगाडि बढ्ने बताए । ‘भाषा, साहित्य, कला, संस्कृतिको विकास नहुञ्जेल देश र प्रदेश समृद्ध बन्न सक्दैन त्यसैले यस क्षेत्रलाई पनि समृद्ध बनाउँछौं,’ उनले भने, ‘अबको बाटो समृद्धिको भएकोले सबै काँधमा काँध मिलेर सँगै हिड्नु पर्ने आवश्यक्ता छ ।’ उनले यस क्षेत्रमा आफूलाई खासै अनुभव नभएकोले सबैको सल्लाह सुक्षाब आफ्नो लागि ग्राह्य हुने बताए । विराटन आदर्श प्रत्येक बर्ष एक जना रंगकर्मीलाई सम्मान गर्दै आएको छ । यस बर्ष रंगकर्मी सबिन कट्टेललाई मन्त्री घिमिरेले दोसल्ला र कदर पत्र प्रदान गरी सम्मान गरे । 

     

    प्रकाशित:फाल्गुन १२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्