खुल्ला लोकनृत्य प्रतियोगितामा सुनसरी प्रथम

- देवनारायण साह, मोरङ

    फाल्गुन १२, २०७४

    भानुकला केन्द्र विराटनगरले आयोजना गरेको पूर्वाञ्चल विद्यालयस्तरीय खुल्ला जातीय लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु सेकेण्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । मकालुले झोरा नृत्य प्रस्तुत गरेको थियो । वरिष्ठ कलाकार तथा संस्कृतिकर्मी चतुर्भुज आशावादीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिवार आयोजित प्रतियोगितामा झिझिया नृत्य प्रस्तुत गरेर अन्नपूर्ण बोर्डिङ स्कुल विराटनगर द्वितीय र समा चखेवा नृत्य प्रस्तुत गरेर सुम्निमा इङ्लिस बोर्डिङ स्कुल विराटनगले तृतीय स्थान प्राप्त गरे ।

    झापा, मोरङ र सुनसरीका १४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट अनुशासित विद्यालयको पुरस्कार कोशी विद्या मन्दिर, उत्कृष्ट प्रस्तुतिको पुरस्कार डीएभी सेकेण्डरी बोर्डिङ स्कुल, उत्कृष्ट भेषभुषाको पुरस्कार मदर टेरेसा र मौलिकता तर्फको पुरस्कार मार्टस सेकेण्डरी बोर्डिङ स्कुलले प्राप्त गरेका छन् । उत्कृष्ट विद्यालयहरूलाई राष्ट्रियसभाका सदस्य प्राज्ञ खेम नेपाल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा पुरस्कार र ट्रफी प्रदान गरे  । 

    केन्द्रले १३ वर्षदेखि वर्षेनी आशावादीको जन्मजयन्तीका अवसरमा लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष माया पौडेलले बताइन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । 

    मन्त्री घिमिरेले कला, साहित्य र संस्कृतिको जर्गेनामा प्रदेश सरकार योजनाबद्ध रुपमा लागिपर्ने बताए । उनले प्रदेशलाई विकास निर्माणमा मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिमा समेत समृद्ध बनाउने उल्लेख गरे । कार्यक्रममा एमाले नेता महेश रेग्मी, साहित्यकार देवी पन्थी, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित, आयोजक संस्थाका सहसचिव प्रचण्ड पौडेललगायतले नेपाली कला र संस्कृतिका क्षेत्रमा चतुर्भुज आशावादीले पुर्‍याउनुभएको योगदानको चर्चा गरेका थिए । प्रतियोगितामा जाट जटिन, टप्पा, संगिनी, मगर, तामाङ सेलो, झिझिया, मारुनी, लाठी, समा चखेवालगायतका नृत्य प्रस्तुत गरिएको थियो । 

    प्रकाशित:फाल्गुन १२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्