म्याग्दी डायरी

- घनश्याम खड्का, म्याग्दी

    फाल्गुन २२, २०७४

    म्याग्दीको मुख्य लगानीका क्षेत्र निर्धारण गरिएको पर्यटनको विकास गर्न जिल्लाबासीहरु आफै सकृय हुन थालेका छन् । पर्यटन विकास समुदाय आफैले पनि गर्न सकिन्छ भन्ने देशको एक्लो उदाहरण हो, अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्ग । परम्परागत पर्यटनबाट निश्चित ब्यक्ति बाहेक समुदायले कुनै लाभ लिन नसकेपछि पर्यावरणीय गाउँ र सामुदायिक पदमार्ग नारा सहित गाउँलेहरुले पर्यटकका लागि होमस्टे, सामुदायीक होटल/लज सहितको पदमार्ग सञ्चालन गरेका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिका समेटिएका अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्गमा प्रख्यात पदमार्ग घोडेपानी, तातोपानी र घान्द्रुकबाट समेत जोडिएको छ । सूचनाप्रविधि युक्त सस्तो, सजिलो र छोटो पदयात्राका लागि यो गन्तब्य उपयुक्त रहेको सामुदायिक पदमार्गका कार्यक्रम संयोजक चित्रबहादुर तिलिजाले बताउनुभयो । 

    बेनी–जोमसोम–कोरला सडक बिस्तारको काममा बिजुलीका तारपोलहरु समस्या बनेका छन् । ०७६ पुस मसान्त भित्र ७ मिटर पिच सहित १० मिटर चौडा सडक निर्माण गर्न बेनी–जोमसोम ७६ किलोमिटरलाई २०–२० किलोमिटरका ४ प्याकेज बनाई २ अर्ब ४९ करोड लागतमा काम सुरु भएको छ । बेनी केन्द्रले हेर्ने २० किमी क्षेत्रको सडक मापदण्डमा परेका ४ सय मध्ये ८ वटा बिजुलीका पोल तत्काल स्थानानतरण गर्नु पर्ने देखिएको नेपाल विद्युत् प्राधिकरण बेनी केन्द्रका प्राविधिक प्रमुख कृष्ण शर्माले बताउनुभयो । सडक बिस्तारमा संलग्न ठेकदार कम्पनीले तारपोल हटाउन लाग्ने रिचार्जेबल कष्ट दाखिला गरेपछि हटाउने काम सुरु हुने उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक बिस्तार पहिलो प्याकेजमा मात्र नभएर दोस्रो, तेस्रो र चौंथो प्याकेजमा पनि बिजुलीका तार र खम्बाका कारण समस्या भएको छ ।

    रघुगंगा गाउँपालिका १ का बेग र बान्दुक बस्ती जोड्न बेगखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीलाई आवतजावतमा सहज भएको छ । बेग–बान्दुक बस्ती झोड्ने लामोतरीको झोलुङ्गेपुल ‘लङ्गस्पान ट्ेरलव्रिज’ नेपालको सर्वाधिक लामो र अग्लो झोलुङ्गे भएको निर्माता जिल्ला समवन्यय समितिको कार्यालय म्याग्दीले जनाएको छ । अभिलेख अनुसार पहाडको वल्लो र पल्लो पाखोमा अवस्थित बेग र बान्दुक बस्ती जोड्ने बेगखोला झोलुङ्गे पुल नेपालको सबैभन्दा लामो पुल भएको जिल्ला प्राविधिक कार्यालयका झोलुङ्गेपुल हेर्ने सवइन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । दुई करोड ८० लाखको लागतमा मुक्तिनाथ–श्रीगीता जेभी पोखराले झोलुङ्गे पुल निर्माण गरेको हो । जिल्ला समवन्य समितिको अभिलेख अनुसार जिल्लामा रहेका एक सय ९१ वटा झोलुङ्गे पुल मध्ये ९९ वटा मात्र सुरक्षित छन् । ४७ वटाको समान्य मर्मत र २१ वटा झोलुङ्गेको बृहत मर्मत गर्नु पर्ने अवस्थामा छन् । गाउँ–गाउँमा निर्माण भएका मोटरबाटोले जिल्लाका २४ वटा झोलुङ्गे पुल विस्थापित गरेकोले प्रयोगहीन छन् । 

    प्रकाशित:फाल्गुन २२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्