प्योङयाङको 'ठोस कदम' पछि मात्रै ट्रम्प र किमबीच भेट हुने

    फाल्गुन २६, २०७४

     

    -आणविक कार्यक्रम रोक्न प्योङयाङले ठोस कदम चालेपछि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्ता हुने अमेरिकाले जनाएको छ । राष्ट्रपति ट्रम्पले नेता किमसँगको भेटका लागि उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमबारे ठोस कदम चाल्नुपर्ने शर्त अघि सार्नुभएको ह्वासहाउसले जनाएको छ  । 

    ह्वासहाउसकी प्रवक्ता सेराह स्यान्डर्सले  भन्नुभयो, राष्ट्रपति ट्रम्प र नेता किमबीच तबमात्रै भेटवार्ता हुन्छ जब उत्तर कोरियाले आफ्ना भनाइ   र गराईमा एकरुपता ल्याउँछ । यसअघि पनि उत्तर कोरियाले आफ्ना थुप्रै प्रतिबद्धतालाई बेवास्ता गर्दै  आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएकाले पनि अमेरिका सशंकित भएको हो । 

    यसअघि गत बिहिबार आपसी सम्बन्धबारे बृहत छलफलका लागि उत्तर कोरिया पुगेको दक्षिण कोरियाली वरिष्ठ अधिकारीहरुको टोलीमार्फत किमले भेटवार्ताका लागि अमेरिकालाई निम्तो पठाउनुभएको थियो । 

    दक्षिण कोरियाली अधिकारीले दुवै समकक्षीबीच आगामी 'मे' मा भेटवार्ता  हुने बताएपनि ह्वासहाउसले भने कहाँ र कहिले वार्ता हुने भन्नेबारे अहिलेसम्म निश्चित नभएको जनाएको छ ।  यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले पठाएको भेटवार्ताको निम्तो राष्ट्रपति ट्रम्पले स्वीकार्नुभएको थियो । 

     

    प्रकाशित:फाल्गुन २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्