फाल्गुन २६, २०७४

झापाबाट निर्वाचित प्रदेश सांसदहरुले प्रदेश नं. १ को नामाकरण र राजधानी तोक्ने विषयमा हतार नगर्न सुझाएका छन् । उनीहरुले प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा विभिन्नखाले जटिलता रहेकोले साझा धारणा बनाएर अघि बढ्नुपर्ने धारणा राखे । जेष्ठ सांसद ओमप्रकाश सरावगीले विभिन्न जाति, भाषी, धर्म र लिङ्गका साथै क्षेत्रलाई समेत समेटेर अघि बढ्नुपर्ने चुनौती रहेको बताउनुभयो । सांसद श्रीप्रसाद मैनालीले प्रदेशसभा विभिन्न चुनौतीकाबीचबाट अघि बढी रहेकोले नामाकरण र राजधानीको विषय थप चुनौतीपूर्ण रहेको बताउनुभयो । सांसद पूर्णसिंह राजवंशीले घरपायक राजधानी होस् भन्ने मानसिकताले समस्या उत्पन्न भएको धारणा बताउनुभयो । सांसद जसमाया गजमेरले प्रदेश नामाकरणमा कोचिला, लिम्बुवान, खम्बुवान, मधेसी, थारु लगायतको भावना सम्बोधन मुख्य चुनौती बनेको बताउनुभयो । 

जिल्लाको बिर्तामोड नगरपालिकालाई बन्दमुक्त क्षेत्र बनाउन उद्योगी व्यवसायीले माग गरेका छन् । उनीहरुले जिल्लाको व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोडलाई सधैका लागि बन्दमुक्त क्षेत्र बताउनुपर्ने माग गरे । निर्वाचन पश्चात मुलुक राजनीतिक संक्रमण अन्त्य भई स्थायित्व तर्फ अघि बढेकोले समृद्धिका लागि पनि बिर्तामोडलाई बन्दमुक्त बनाउन आवश्यक रहेको उनीहरुको भनाई छ । निवर्तमान सांसद सुधिरकुमार शिवाकोटीले बन्दविरुद्ध सबै एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बन्दको पक्षमा उभिने विरुद्ध सबै व्यापारी, व्यवसायी एवं सामाजिक अगुवाहरु एक जुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उपभोक्ता मञ्च नेपालका जिल्ला अध्यक्ष वेदप्रकाश अग्रवालले बन्द गर्ने शैलीलाई बदल्नुपर्नेमा जोड दिनुभयो । 

दमकस्थित दमक अस्पतालले आज पहिलो पटक पोस्टमार्टम गरेको छ । तीन साता अघिनै सेवा सुरु भएपनि अस्पतालले पोस्टमार्टम भने पहिलो पटक गरेको हो । सवारी दुर्घटनामा परी ज्यान गुमाएका दमक ९ का कमल कुमार मगरको शव पोस्टमार्टम गरेको अस्पतालले जनाएको छ । जिल्लामा मेची अञ्चल अस्पतालपछि जिल्ला स्तरीय अस्पतालको मान्यता पाएको दमक अस्पतालले पनि पोस्टमार्टम सेवा सुरु गरेको हो । सो सेवाबाट पश्चिम झापाका जिल्लाबासी लाभान्वित भएका छन् । 

जिल्लाको शिवसताक्षी नगरपालिकास्थित दूधेमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । स्थानीय शिवसताक्षी भलिबल क्लबको आयोजनामा चैत २ देखि ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा जिल्लाका १४ टिमले सहभागीता जनाउने आयोजक क्लबका अध्यक्ष भीम लिवाङले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा ६ जना खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिने अध्यक्ष लिवाङले बताउनुभयो । 

 

प्रकाशित:फाल्गुन २६, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्