वैदेशिक सहायताको प्रतिवद्धता घट्यो

- केशु लामिछाने , काठमाडौं

    फाल्गुन २८, २०७४

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक सहायतामा ३८ प्रतिशतले कमी आएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि वैदेशिक सहायता परिचालनका लागि सोही अनुसारको नीतिगत व्यवस्था नहुँदा अघिल्लो वर्षको तुलनामा सरकारले प्राप्त गर्ने वैदेशिक सहायताको प्रतिवद्धता घटेको हो । अर्थमन्त्रालयको प्रतिवेदन अनुसार सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ९४ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त गरेको थियो । त्यसमध्ये  ६१ अर्ब १९ करोड २० लाख अनुदान र ३२ अर्ब ९९ करोड सहुलियतपूर्ण क्रण सहायता रहेको छ ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ५२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिवद्धता आएको थियो । सरकारले हालसम्म वैदैशिक सहायता परिचालनका लागि आवश्यक विकास सहायता नीति, विकास सहायता परिचालन मार्गदर्शन लगायतका नीति निर्माण गर्न सकेको छैन । अर्थमन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा कोष प्रणालीमार्फत गरिने वैदेशिक सहायता खर्चमा १४ दशमलव ८७ प्रतिशतले गिरावट आएको छ ।

    यो वर्षको पहिलो ६ महिनामा कोष प्रणाली मार्फत मात्र २५ अर्ब ५२ करोड १० लाख रुपैयाँ वैदेशिक सहायता खर्च भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा २९ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको थियो । सोझै भुक्तानीतर्फ २२ करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९७ करोड रुपैयाँ खर्च भएको थियो ।

     

    प्रकाशित:फाल्गुन २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्