नवलपरासी डायरी

- नवीन पौडेल, नवलपरासी

    फाल्गुन २९, २०७४

    स्थानीय तह चुनावको समयमा स्मार्ट सिटीको नारा लगाएका निर्वाचित जनप्रतिनिले अहिले धमाधम विदेशी लगानी भित्राउन थालेका छन् । पश्चिम नवलपरासीका तीन ओटै नगरपालिकाले कोरिया तथा चीनका ठूला लगानीकर्तालाई आकर्षित गर्दै नगरको भौतिक, शैक्षिक एवं आर्थिक विकासका लागि साझेदारी गर्न योजना अघि सारेका छन् । वातावरण मैत्री, बालमैत्री संरचनालाई ध्यानमा दिँदै रामग्राम, बर्दघाट र सुनवल नगरपालिकामा चीन र कोरियाका ठूला लगानीकर्ताले काम शुरु गरेका छन् । नगरलाई व्यवस्थित एवं विकास गर्न एसियन ईन्फ्रास्ट्रक्चर ईन्भेस्टमेन्ट बैकले नगरको विभिन्न पूर्वाधार विकासमा लगानी गर्ने भएको हो । बैँकले शहरी मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको अनुमति लिएर स्थानीय तहमा काम गर्ने छ । रामग्राम नगरपालिकामा पनि चिनियाँ लगानीमा स्मार्ट पार्क निर्माण हुने भएको छ । 

    भुक्तानी माग गर्दै इन्दिरा सुगरमिलमा किसानको अनशन  

    चिनी उद्योगले उखुको भुक्तानी नदिएको र तौलमा समेत ठगी गरेको भन्दै पश्चिम नवलपरासीका किसानले आज आठौं दिन पनि आन्दोलन जारी राखेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका ८ पिपरपाती स्थित ईन्दिरा सुगर मिलको गेटमा धर्ना दिँदै किसानहरुले रिले अनशन शुरु गरेका थिए । किसानहरुले उत्पादन भएको चिनी बाहिर लैजान समेत रोक लगाएका छन् । उखुको मुल्य नतोक्दा किसानले अघिल्लो वर्षकै मुल्यमा भुक्तानी पाउने गरी उद्योगलाई सस्तोमा उखु बेच्दा समेत अहिले भुक्तानी दिन आनाकानी गरेपछि किसान मर्कामा परेका हुन् । भुक्तानी हुन सबै बाँकी रकम प्राप्त भएपछि मात्र आन्दोलन स्थगित गर्ने किसानहरुले बताएका छन् । भुक्तानी दिन आनाकानी गरे उद्योगमा तालाबन्दी गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । 

    सडक निर्माण शुरु

    बर्दघाट नगरपालिकाले वडा नम्बर २ मा रहेको विकट पटुके बस्तीलाई केन्द्र र वडासँग जोड्न सडक बिस्तार कार्य शुरु गरेको छ । सवारी सञ्चालन गर्न सकिने गरी नगरपालिकाले सो सडक फराकिलो पारेको हो । यो सडकलाई प्रदेश नम्बर ५ को बर्दघाट नगरपालिका र प्रदेश नम्बर ४ को दुम्किबासको डाँडाजोर जोडेर दाउन्ने सडक खण्डको विकल्पका रुपमा प्रयोग गर्न सकिने गरी थप विस्तार गर्ने नगरपालिकाको तयारी छ । गाउँमा सडक बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । बर्दघाट नगरपालिका १० भुताहा देखि विनयी त्रिवेणीको दुम्किबास सम्म १४ किलोमिटर सडक निर्माण गरिएको हो । नगरपालिकाले करीब २० लाखको लागतमा सो सडक फराकिलो पारेको हो । नगरपालिकाले सो सडकलाई पक्कि सडक बनाउनका लागि प्रदेश र केन्द्र सरकारसँग माग समेत गरेको छ ।       

    हुप्सेकोटमा खानेपानीको हाहाकार 

    पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका मैनाघाटमा खानेपानीको हाहाकार भएको छ । एक गाग्री पानीका लागि स्थानीयलाई दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको भरपर्दो स्रोत नहुँदा मैनाघाट भेडाबारिका बासिन्दाको दैनिकी खानेपानीको जोहो गर्नमै बित्ने गरेको छ । २२ वर्ष अघि बनाइएको धाराको मुहान सुकेपछि करीब सय परिवार रहेको सो गाउँमा खानेपानीको हाहाकार भएको हो । अहिले उनीहरु एक/डेढ घण्टा हिँडेर खोल्साको पानी ल्याएर पिउन बाध्य छन् । पानीको समस्याले कतिपय परिवारले त्यहाँबाट बसाँइ समेत सरिसकेका छन् । 

    प्रकाशित:फाल्गुन २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्