एमालेले आफैं भन्यो, पार्टी भित्र दण्डहीनता मौलायो

काठमाडौं

    फाल्गुन २९, २०७४

    नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको आयोग बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्यउपर छानविन नगरी दण्डहीनता मौलाइरहेको निष्कर्ष निकालेको हो । बैठकले पार्टीमा दण्डहीनता मौलाइरहेकाले वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षण समेत गराएको आयोगका अध्यक्ष अमृतकुमार बोहराले जानकारी दिनुभयो । यस्तै, बैठकले पार्टीका कमिटीहरु प्राय: निष्क्रिय रहेको र लामो समयदेखि पार्टीको केन्द्र देखि आधारभूत तहसम्मका कमिटीका बैठक समेत राम्ररी नभएको समेत जनाएको छ ।

    बैठकपछि आयोग अध्यक्ष बोहराद्वारा जारी विज्ञप्तिमा पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमश: कमजोर बन्दै गएको उल्लेख छ । त्यसैगरी, तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहिन क्रियाकलाप, घात–अन्तरघात जस्ता अवाञ्छित कार्यको यथासमयमा छानबिन भई कारवाही हुनुपर्नेमा अनेकौं बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारबाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको अध्यक्ष बोहराले जानकारी दिनुभयो । सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी तथा अखिल नेपाल महिला संगठन, युवा संघ नेपाल र अनेरास्ववियु जस्ता पार्टीका जनसंगठन उदासीन, निष्क्रिय र मुकदर्शक बनिरहेका भन्दै आयोगले कतै पार्टी पंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट विमुख बन्दै गरेको संकेत त होइन भन्ने प्रश्न खडा भएको जनाएको छ । यस्तै बैठकले जघन्य सामाजिक अपराधका घटना नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । बैठकले आयोगको रिक्त सदस्यमा राजनारायण साहलाई मनोनयन गरेको छ ।

     

    प्रकाशित:फाल्गुन २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्