प्रधानन्यायाधीशको जन्ममिति विवाद दु:खद : प्रधानमन्त्री ओली

काठमाडौं

    फाल्गुन ३०, २०७४

    प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको जिम्मेवार पदमा बसेका व्यक्तिको जन्ममिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दु:खद भएको बताउनुभएको छ । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित जलपान कार्यक्रममा उहाँले न्यायालयमा न्याय माग्न जानेले पुर्पुरोमा हात लगाएर बस्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ’अहिले न्यायालय भकभक उम्लिरहेको छ, न्याय पाउँ भन्ने मान्छे तमासा हेरेर पुर्पुरोमा हात लाएर बसिरहेका छन्, जिम्मेवार पदमा बसेका बारे जन्ममिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दु:खद् अवस्था हो ।’

    प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गर्नुभयो । यसैबीच प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहाना बमोजिम चाँडै पार्टी एकता हुन लागेको बताउँदै वैशाख अगावै प्रक्रियाले अन्तिम रुप पाउने दाबी गर्नुभयो । आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुन सक्ने उहाँको भनाई थियो ।

    वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, सम्मृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम रहेको ओलीको भनाई थियो । अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधैं तत्पर रहेको प्रष्ट पार्नुभयो । 

    सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभारा बमोजिम परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको लडाइँमा आफूहरुले विजय हासिल गर्ने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता थियो ।

     

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्