प्रधानन्यायाधीश पराजुली पदमुक्त

काठमाडौं

    फाल्गुन ३०, २०७४

    न्याय परिषद्ले उमेर हदका कारण प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त भएको स्पष्ट पारेको छ । न्याय परिषदले सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरबाट आजै प्राप्त भएको पत्रको आधारमा पराजुलीको उमेर हद पुगेको जानकारी गराएको हो । परिषद्को आज बसेको सचिव स्तरीय बैठकले प्राप्त प्रमाणका आधारमा ६५ वर्ष उमेर पुगकाले गत साउन २१ गतेदेखि नै अवकास भइसकेको जानकारी स्वयं पराजुली सहित राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सर्वोच्च अदालत सहित सरोकारवाला निकायलाई पत्रचार गरेको छ ।

    सचिव नृपध्वज निरौलाको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४/४/२१ मा नै पूरा भईसकेको देखिन आएकोले आज मिति २०७४/११/३० को सचिव स्तरीय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु ।’ प्रधानन्यायाधीश पराजुलीको नागरिकतामा फरक फरक जन्ममिति भेटिएको थियो । उहाँको विवादित जन्ममितिको विषयलाई लिएर सर्वोच्चका न्यायाधीशले नै इजलाश बहिष्कार गर्न सुरु गरिसकेको थिए ।

    न्याय परिषद्ले ऐन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणले अवकाश हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्ने छ भन्ने प्रावधान रहेको उल्लेख गर्दै सो जानकारी गराएको छ । पराजृुलीको जन्ममिति नागरिकतामा २००९ साउन २१ र परीक्षा नियन्त्रण कार्यालयको रेकर्डमा २०११ बैशाख २३ गते उल्लेख छ । न्याय परिषद् ऐनको दफा ३१(७) अनुसार १ बर्ष फरक भएमा अघिल्लो जन्ममिति मान्य हुने भएकाले पराजुलीले ६५ वर्षे उमेर हदका कारण गत साउन २१ गते नै अवकाश पाएको न्याय परिषद्को स्पष्टोक्ति छ । 

    प्रकाशित:फाल्गुन ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्