कहिले पाउँला 'चिया' ले उचित मुल्य ?

- किरण अधिकारी ,
    स्वास्थ्यका दृष्टिले दिन-प्रतिदिन चर्चा पाईरहेको ग्रिन टीको विकासले पनि नेपाली उत्पादनले बजार लिदै छ तर बिडम्बना अन्य क्षेत्रमा झै चिया खेतीमा पनि सरकारी नजर धुमलिएको पाइन्छ ।

    चैत्र ३, २०७४

    गजराजसिंह थापाले १९२० सालमा पूर्वी क्षेत्र इलाममा रोपेपछि सुरु भएको चिया खेती अहिले विभिन्न जिल्लामा बिस्तार भएको छ । चैतदेखि कात्तिकसम्म निरन्तर टिपाई हुने भएकाले दिगो आम्दानीको स्रोतका साथै तराई र पहाडी क्षेत्रमै उत्पादन हुने चिया हजारौंको रोजी-रोटीको माध्यम बनेको छ । बिरुवादेखि बगान हुँदै कपसम्म पुग्दा चिया खेतीमा निर्भर हुनेको संख्या उल्लेख्य भएपनि सरकारी नीति र कम्पनीमा समयानुसारको प्रविधि विकास नहुँदा किसान भने दीर्घकालिन समस्या भोग्न बाध्य छन् । 

    “प्रतिकेजी ५० रुपैयाँ भनेर उद्योगले लगेपनि  पैसा दिदा ४५ कहिले ४० दिने गर्छन् । २० वर्षदेखि चिया खेति गरिएको छ । तर उद्योगीले ठग्छ । सरकार मौन छ ।” खेतिमा ऋण दिनपर्ने इलामकी दिलमाया पराजुलीले दुखेसो पोखिन् । उनले मात्र होइन अर्का चिया किसान सावित्रा निरौलाले पनि लामो समय देखि चिया खेति गर्दापनि किसानलाई उद्योग छनोमा समस्या आएको छ, सरकारले चान्स दिन आवश्यक रहेको बताईछन् ।

    नगदेबाली अलैंचीलाई रोगले गाँजेपछि ऊ बेला इलामका किसानले पाखामा समेत चियाको बोट रोपे । चियाका बोट बुढा भए तर वर्षौ बितिसक्दा समेत उनीहरुले लगानी अनुसारको मुल्य पाउन सकेका छैनन् । वार्षिक ३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन हुने चिया खेतिमा ५० हजारभन्दा बढी किसान आवद्ध छन् । प्रत्यक्ष, अप्रत्यक्ष १ लाख २५ हजार जनाले रोजगारी पाएका पनि छन् । इलामबाट मात्र वार्षिक ६२ हजार किलोग्राम चिया भारत निर्यात हुने गरेको छ । तर चिया खेतीको हब मानिएको इलामस्थित नेपाल अर्गानिक चिया उद्योगका संचालक सुभाष खरेल सरकारी नीति नै कमजोर रहेको गुनासो गर्छन् ।

    कुल २८ हजार हेक्टर क्षेत्रफलमा २ करोड ४० लाख किलोग्राम चिया उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । जसमध्ये ५५ लाख किलो अर्थोडक्स छ । विश्वका बिभिन्न मुलुकले अर्थोडक्स चियाको माग बढाएपनि नेपाल भने भारतीय बजारमा निर्भर छ । नगन्य मात्रामा जर्मनी, नेदरल्यान्डस्, बेलायतमा चिया निकासा हुने गरेपनि त्यसले मात्र किसान सन्तुष्ट हुन सकिरहेका छैनन । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम अन्तर्राष्ट्रिय बजार सहज बनाउन कायम समस्या चाडैं समाधान हुने दावी गर्छन् । 

    तीन पाते चियाको चर्चा अझै हराएको छैन र आगामी दिनमा पनि यसको गुणस्तरको चर्चा हुने नै छ । स्वास्थ्यका दृष्टिले दिन-प्रतिदिन चर्चा पाईरहेको ग्रिन टीको विकासले पनि नेपाली उत्पादनले बजार लिदै छ तर बिडम्बना अन्य क्षेत्रमा झै चिया खेतीमा पनि सरकारी नजर धुमलिएको पाइन्छ  ।

    चिया खेतीमा निर्भर हुने किसानको संख्या ह्वात्तै बढ्दा पनि टेष्ट गर्ने देखि माटो परिक्षण गर्ने सम्मको सुविधा मुलुकमै नहुनु दुखद पाटो हो । प्रशोधन, टेस्टिङ र प्याकेजिङदेखि प्राविधिक ज्ञान र सामग्रीको पहुँच सरकारले सहज बनाईदिए किसानको पसिना मुछिएको चिया पत्तिले उचित मुल्य सहित अन्तर्राष्ट्रिय बजार पाउने थियो कि ? 

    प्रकाशित:चैत्र ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्