पूर्वका अधिकांश घ्यु उद्योग बन्द

- विनोद भण्डारी , विराटनगर

    चैत्र ७, २०७४

    दशक अघिसम्म वार्षिक सरदर ३० अर्ब रुपैयाँ बराबरको वनस्पति घ्यु निकासी गर्दै आएका पूर्वका अधिकांश उद्योग बन्द भएका छन् । भारतको स्टेड ट्रेडिङ् कर्पोरेशनले नेपाली वनस्पति घ्यु निकासीमा कोटा प्रणाली लागू गरेपछि पूर्वका वनस्पति घ्यु उद्योग चरम समस्या भोग्न बाध्य भएका हुन् । भारतले नेपाली वनस्पति घ्यु निकासीमा कोटा लगाउनु अघि नेपालबाट हरेक वर्ष सरदर तीन लाख टन घ्यु निकासा हुने गरेको थियो । उद्योगको ९५ प्रतिशत बजार भारत नै थियो ।

    हाल पशुपति, बागमती, क्वालिटी र स्वस्तिक वनस्पति घ्यु उद्योगले स्थानीय खपतका लागि ५ प्रतिशत उत्पादन गर्दै आएका छन् । अरुण, मनकामना, श्रीराम र नारायणी वनस्पति घ्यु उद्योग पूर्ण रुपमा बन्द भइसकेका छन् । उत्पादित वस्तु निकासीका लागि सरकारले भारतीय पक्षसँग पहल गरेर सहुलियत दिए बन्द भएका उद्योग अझै पनि सञ्चालन गर्न उद्योगीहरु तयार देखिन्छन् । स्थानीय उद्योगलाई कच्चा पदार्थमा १० प्रतिशत मात्र कर लगाए पनि नेपाली उत्पादनले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निकासी बन्द भएको थियो । अरुण वनस्पति घ्यु उद्योगका सञ्चालक दिनेश गोल्छाले भारतका उद्योगले सस्तो लागतमा उत्पादन गर्नु र महँगो लागतमा नेपालमा उत्पादन भएका घ्यु निकासीमा भारतले कोटा लगाएर झन्झट दिएपछि उद्योग बन्द गर्न बाध्य भएको बताउनुभयो । 

    भारतले स्थानीय उद्योगलाई कच्चा पदार्थ आयातमा अहिले ४० प्रतिशत कर लगाएपछि नेपाल सरकारले सहुलियत दिए बन्द उद्योग पुन: सञ्चालन गर्न सकिने श्रीराम रिफाइन उद्योगका सञ्चालक प्रदिप मुरारकाले बताउनुभयो । कोटा प्रणाली लागु गर्दै भारतको स्टेड ट्रेडिङ् कर्पोरेशनले ८ वर्षअघि पूर्वका उद्योगलाई वार्षिक एक लाख टन मात्र निकासी गर्न पाउने नियम लगाएको थियो । त्यसताका पनि वार्षिक करीब १० अर्ब रुपैयाँ बराबरको एक लाख टन घ्यु निकासी हुँदै आएको थियो । स्थानीय वनस्पति घ्यु उद्योगलाई चाहिने कच्चा पदार्थ पाम आयल आयतमा भारतले १० प्रतिशत मात्र लोकल ड्युटी लगाएपछि नेपालमा भने घ्युको उत्पादन मूल्य भारतको भन्दा उच्च भएको हो । महँगो लागतमा उत्पादित वस्तु कोटा प्रणालीमा निकासी गर्न नसकेपछि नेपाली उद्योग बन्द भएका हुन् । नेपाल र भारतका उद्योगले आवश्यक कच्चा पदार्थ पाम आयल अहिले पनि मेलेसियाबाट आयात गर्ने गरेका छन् । 

     

    प्रकाशित:चैत्र ७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्