धरानको विजयपुरमा झडप, चार सेल अश्रु ग्यास प्रहार

- प्रदीप मेन्याङ्बो, धरान

    चैत्र ७, २०७४

    सुनसरीको धरान–१४ विजयपुरस्थित पञ्चकन्या क्षेत्रमा खानेपानी ट्याङ्की निर्माणका क्रममा स्थानीयवासीबीच झडप भएको छ । आयोजनाले धरानका विभिन्न स्थानमा निर्माण गरेका चार मध्ये विजयपुर डाँडामा पानी ट्याङकी निर्माण गर्दा लिम्बुवानको ऐतिहासिक पुरातात्विक दरबार क्षेत्र नस्ट हुने भन्दै विवाद उत्पन्न भएको छ । दिउँसो भएको झडपमा २ जना घाइते भएका छन् भने ट्याङकी निर्माणमा असन्तुष्टि व्यक्त गर्दै आएको समुहले दुई वटा स्काभेटरमा तोडफोड गरेको छ । झडपमा कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्का अव्वास मिया र नैनबहादुर विक घाइते भएका हुन् । स्थिति नियन्त्रणका लागि भन्दै प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेपछि विजयपुर तनावग्रस्त बनेको थियो ।

    खानेपानी आयोजनाको निर्माण ठेक्का पाएको तियान्जीन तुदी जेभीको स्काभेटर क्षतिग्रस्त भएको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले जानकारी दिनुभयो । झडप लगत्तै विजयपुर दरबार परिसर संरक्षण समितिले ऐतिहासिक पुरातात्विक क्षेत्र नस्ट हुने भन्दै पानी ट्याङ्की अन्यत्र निर्माण गर्न आग्रह गरेको छ । आयोजना पक्षले भने विकल्प खोजेपनि भूमिगत पानीको चाप अनुसार उचाईमा रहेका धरानका फुश्रे र विजयपुरका उपभोक्ताका लागि पहिले नै सर्भे, डिजाइन र पाइपलाइन बिस्तार गरेकाले अन्यत्र सार्न नसकिएको जनाएको छ । दुवै पक्षसँग वार्ता गरी समस्या समाधान गरिने उपमहानगरपालिका प्रमुख सुब्बाले बताउनुभयो । 

    एसियाली विकास बैंकको १ अर्ब ४८ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तरगत धरानमा खानेपानी योजना निर्माण भईरहेको हो । 

     

    प्रकाशित:चैत्र ७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्