वन अतिक्रमण बढ्दो

- भरत जर्घामगर, काठमाडौं

    चैत्र ७, २०७४

    सिरहाको उत्तररु क्षेत्र चुरेमा मात्र सीमित रहेको वन क्षेत्र अतिक्रमण बढ्दो छ । वन कार्यालयले संरक्षण र व्यवस्थापनका लागि समुदायलाई १४ हजार ६ सय ६२ हेक्टर वन हस्तान्तरण गरेको छ । त्यसमा १ सय २ सामुदायिक वन उपभोक्ता क्रियाशिल छन् । कार्यालयको तथ्यांक अनुसार सिरहामा समुदायलाई हस्तान्तरण गरेकै ४१ वटा सामुदायिक वनको ९ सय ९३ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित क्षेत्रमा अझै १ हजार १ सय ९८ घरधुरीको बसोबास छ । धेरै वर्षअघि बसोबास गरेको पुरानो बस्ती, पक्की संरचना निर्माण र राजनीतिक कारणले वन क्षेत्र अतिक्रमण हटाउनमा समस्या भएको वन अधिकारीहरुको भनाई छ ।

    वन ऐन २०४९ लागू भएपछि सिरहामा वन क्षेत्र संरक्षण व्यवस्थापन तथा उपयोगको लागि समुदायलाई हस्तान्तरण गरिएको थियो । तर त्यतिखेर देखि नै सामुदायिक वनको १ हजार ९५ हेक्टर क्षेत्र अतिक्रमण गरी १ हजार २ सय ५२ घर निर्माण भएको थियो । जसमध्ये ९३ हेक्टर जग्गाको ५४ घरधुरी मात्रै वन कार्यालयले खाली गराउन सकेको छ । पछिल्लो पटक समुदायलाई २०५४ असार १५ मा हस्तान्तरण गरिएको कर्जन्हा नगरपालिका १ बल्टिया स्थित नन्द बाबा सामुदायिक वन क्षेत्रको ५ हेक्टर जग्गा अतिक्रमण गरी कमला खोला बगरमा स्थानीयले बनाएको ५० घर टहरा मात्रै वन कार्यालयले हटाएको छ । ‘सिरहा, उदयपुर, सिन्धुली र धनुषाका सर्वसाधारणले वन क्षेत्रको जग्गा कब्जा गर्ने नियतले बनाएको घरटहरा हटाउन वन ऐन, नियमानुसार पटक पटक सूचना दिएपनि स्थानीयले अटेर गर्दै आएको थियो’, जिल्ला वन अधिकृत सुनिल कुमार सिंहले भन्नुभयो, ‘स्थायी संरचना निर्माण हुन लागेपछि हामीले बल प्रयोग गरी टहरा खाली गराएका छौ ।’

    अतिक्रमित नन्दबाबा सामुदायिक वन क्षेत्रभित्रको कमला खोला बगर भएकाले उक्त क्षेत्रमा सजिलै वृक्षारोपण गरी वन बनाउन सक्ने सम्भावना हुँदा टहरा हटाइएको जिल्ला वन अधिकृत सिंहले बताउनुभयो । उता स्थानीयले सामुदायिक वन मासेर नभई कमला खोला बगरमा टहरा बनाएको भएपनि जिल्ला वनले जबरजस्ती हटाएको गुनासो गरेका छन् । ‘हामीले फागुन ४ देखि १५ गतेसम्म कुम्भ मेला आयोजना गरेका थियौं’ स्थानीय मुकुन्द दाहालले भने ‘मेलाका लागि कमला नदीको बगरमा बनाइएको टहरा वनले जबरजस्ती भत्काई दियो ।’ उनका अनुसार केही दिनभित्रै फेरि यही स्थानमा मेला हुने भएकोले टहरा यथावत राखेका थियौं ।’ यो धार्मिक स्थल उतरायणीमा धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ का गुन्डाई टोल, उदयपुरको कटारी नगरपालिका १ का सिसनेरी टोल र सिरहाको कर्जन्हा नगरपालिका १ बल्टियाका सर्वसाधारणले मेलाभरीका लागि पसल थापेको दाहालले बताए । तर वनले भत्काईदिएको उनले सुनाए ।

    ‘सामुदायिक वनको अधिकार स्थानीय तहलाई दिएको छ’, कर्जन्हा नगरपालिका १ का अध्यक्ष मोहन केसीले भन्नुभयो, ‘वन कार्यालयले हामीलाई कुनै समन्वय नगरी जबरजस्ती टहरा हटाएको छ, यो राम्रो काम भएन ।’ आफूहरुको सहमतिमा नै व्यापारका लागि ६/७ घर बसाउन खोजेको सामुदायिक वनका अध्यक्ष श्याम बहादुर फुयालले बताउनुभयो । ‘धार्मिक स्थल भएकोले यस क्षेत्रका बासिन्दालाई नदिको वारिपारि आवतजावत गर्न सजिलो हुन्छ भनेर व्यापार गर्नेलाई बसाउन खाजेको थियौ,’ उहाँले भन्नुभयो, ‘यहाँ बसोबास गर्नेहरु वन मासेको छैन् ।’

    आगन्तुकहरुलाई चिया, नास्ता लगायत सुबिधा दिनका लागि भन्दै संरचना तयार हुनु र पछि राजनीतिक कारण देखाउँदै वन अतिक्रमण रोक्न समस्या भएकाले बेलैमा टहरा हटाएको सहायक वन अधिकृत अमरेन्द्र यादवको भनाई छ । ‘मेला अवधिभर पसलका लागि टहरा बनाउन दिएका हौं’ उहाँले भननुभयो, ‘तर, मेला सकिएर पटक पटक टहरा हटाउन भनेपनि राजनीतिक रंग दिएर बसोबासको नियत देखिएपछि हटाउन बाध्य भएका हौं ।’

    वर्षौदेखि बसोबास कायमै

    सरकारले अतिक्रमणलाई समयमै नियन्त्रण गरी जंगल क्षेत्रलाई ४० प्रतिशत कायम गर्न ‘वन अतिक्रमण रणनीति २०६८’ लागू गरेपनि वन अतिक्रमण न्युनिकरण हुन सकेको छैन । वन ऐन २०४९ को दफा ४९ ले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्ने कार्यलाई दण्डनीय मानेको छ । वनमा न्युन कर्मचारीका कारण गस्ती गर्न नसक्नु लगायत राजनीतिक कारण देखाउँदै अतिक्रमण न्युनिकरण गर्न नसकेको वन कार्यालयले जनाउँदै आएको छ । सिरहाको चुरेडाडा, देउराली, देउराली नमूना, सल्लेरी, लालीगुराँस र हातीमुण्डा सामुदायिक वनको सय हेक्टर भन्दा बढी जग्गा वर्षौदेखि अतिक्रमण गरी ९ सय घरधुरीले बसोबास गरिरहेका छन् । ती क्षेत्रमा भुमाफियाहरुले जग्गा अतिक्रमण गरेको जिल्ला वन अधिकृत सिंहले बताउनुभयो । उहाँकाअनुसार राजदेवीचुरे सामुदायिक वनमा १० हेक्टरको १५ घरधुरीलाई हटाए पनि बाँकी २० हेक्टर जग्गा अझै अतिक्रमणमै छ । यस्तै, मन्ठदेवी, शिव, सोनामाई, सुक्लाहा सामुदायिक वनको १३ हेक्टरको ३९ घरधुरीमात्र वनले खाली गराउन सकेको छ । 

     तथ्यांक अनुसार सिरहामा २७ हजार ७ सय ७ दशमलव ९५ हेक्टर वन क्षेत्र छन् । ती मध्ये ९ सय ९३ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । कार्यालयका अनुसार सिरहामा १ लाख १७ हजार ९ सय ६२ घरधुरी मध्ये चुरे क्षेत्रको २१ हजार ४४ हेक्टर जग्गामा ७ हजार ८ सय १४ घरधुरीको बसोबास छ । 

    ‘जनसंख्याको चाप बढदै गएकोले वन पैदावारको माग त्यही अनुपातमा बढ्यो’ सहायक वन अधिकृत अमरेन्द्र यादवले भन्नुभयो, ‘खोरिया फाँडेर खेती गर्न क्षेत्र बिस्तार गर्ने, अति चरिचरण, चोरी कटानी, डढेलो लगायतका कारणले वन क्षेत्र ह्रास हुँदै आएको छ ।’ उहाँका अनुसार भूमिहीन सुकुम्बासीलाई बसाउन र दैवी प्रकोप पीडितलाई राहत दिलाउन, स्कुल, कलेज, विद्युत्, सडक, पुल लगायत जस्ता सार्वजनिक पूर्वाधारहरु निर्माण गर्न पनि जंगलै फँडानी गर्ने कारणले पनि वन अतिक्रमण दर बढ्दो छ । वन अतिक्रमण रोक्न रणनीति ६ वर्ष अघिदेखि लागू गरी काम भइरहेकोले अतिक्रमण न्यूनिकरण हुने उहाँले बताउनुभयो । 

     

    प्रकाशित:चैत्र ७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्