अनुभूतिको माध्यम कविता

- रमेश दुलाल, काठमाडौं

    चैत्र ७, २०७४

    – विश्व कविता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च २१ मा विश्व कविता दिवस मनाइने गरिन्छ । संसारभरका कवि र कविताको प्रशंसा र उत्थानका लागि युनेस्कोले सन् १९९९ मा मार्च २१ लाई विश्व कविता दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा त्यसको तीन वर्षपछि बाट मात्र दिवस मनाउन थालिएको हो । 

    महाकवि लक्ष्मी प्रसाद देवकोटाका कविता हरफ सुनाउँदै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटा आफ्नो बाल्यकालमा हराए । साहित्यको सबैभन्दा शक्तिशाली बिधा मानिन्छ कविता । शार्दुलविक्रिडित शैलीका कविता मन पराउने बाँस्कोटाले बर्दियाको महाकवि लक्ष्मी प्रसाद देवककोटा मा वि मा नै अध्ययन गरेका थिए । जीवनका शैसवकालमा उनले कोरेको पहिलो कविताको स्मरण उनलाई अझै छ ।

    यस्तै, कलाकार हरिवंश आचार्यले जीवनमा थुप्रै गीत लेखे पनि कविता कोरेका छैनन् । त्यसो उनको बुझाइमा गीतको पहिलो सृष्टि नै कविता हो । कविताका शब्दहरुले कविको भावना बोल्ने भएकाले पनि यो सशक्त माध्यम भएको आचार्यको तर्क छ । आफ्नै मन हरण नगर्ने भावनालाई कवितामा उतार्न मुस्किल हुने उनको ठम्याइ छ । वरिष्ठ पत्रकार एवं आम सञ्चार तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी पनि विद्यार्थी काल कवितामा झुकाव राख्थे । कक्षा कोठामा पत्रकारिता हतारको साहित्य हो भनेर पढाउने यिनी साहित्यतिरको झुकावलाई सकारात्मक रुपमा ग्रहण गर्छन् । आफूले पहिले लेखेको कविताको हरफ ठ्याक्यै नसम्झिए पनि शीर्षक यिनलाई कण्ठस्थ छ  ।

    जिवनयात्राका क्रममा अलमलमा पर्दा समाधानका लागि कविता सन्दा आफुलाई दिशाबोध हुने रेग्मी बताउंछन् ।  जिवन सापेक्ष कविताले समाज रुपान्तरणमा प्रभाव पार्न सक्ने उनको धारणा छ । तर पछिल्लो समय पाठक र श्रोताको रुची एकातिर र कविताको बहाव अर्कै तिर भएका कारण दुबैलाई एकै दिशामा फर्काउने काम संचार माध्यमको भएको उहाँको सुझाव छ । जीवनको कुनै न कुनै पलमा कविता नकोर्ने र गीत नगुनगुनाउने मानिस बिरलै भेटिन्छन् । साहित्य र संगीत यस्तो बिधा हो जसले मानिसलाई ऊर्जाशील बन्न प्रेरित गर्छ । तर साहित्यका अन्य विधामध्ये कवितामा प्रयोग हुने भाषा क्लिष्ट हुँदा सबैले आफ्नो अनुकुल नठान्न सक्छन् ।

    समाजसँग प्रत्यक्ष संवाद गर्न सक्ने विद्याका रुपमा लिइने कवितालाई अनुभूतिका माध्यमका रुपमा पनि लिइने गरिन्छ । यति हुँदा हुँदै पनि साहित्यमा सबैभन्दा बढी रुचाइने तर बिक्री नहुने विधाका रुपमा कविता परिभाषित हुँदै आएको छ । यो अवस्थाको अन्त्य अहिलेको आवश्यकता हो ।  

    प्रकाशित:चैत्र ७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्