प्रतिनिधिसभाको नियमावली मस्यौदा निर्माण प्रक्रिया शुरु

- बासु खड्का, काठमाडौं

    चैत्र ८, २०७४

    प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिले मस्यौदा बनाउने प्रक्रिया अघि बढाएको छ । आज बिहान सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकले एमाले सांसद कृष्णभक्त पोरखेललाई सभापतिमा सर्वसम्मत चयन गरेर प्रक्रिया अघि बढाएको हो । अब कार्यविधि बनाएर नियमावलीको मस्यौदा बनाउने काम अघि बढाउने सभापति पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधि सभाको आगामी बैठकमा मस्यौदा पेस गर्ने गरी काम अघि बढाउने उहाँको भनाई छ ।

    प्रतिनिधिसभाको आगामी बैठक सोमबारका लागि बोलाईएको छ । समितिमा जुलीकुमारी महतो, दिलेन्द्र बडु, देव गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीन बहादुर विश्वकर्मा, मिनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, विन्दा पाण्डे र विमल श्रीवास्तव सदस्य हुनुहुन्छ । समिति सदस्य रबीन्द्र अधिकारी पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेर सरकारमा हुनुहुन्छ । 

    यस्तै राष्ट्रिय सभाले गठन गरेको समितिले भने १५ दिन वितिसक्दा पनि नियमावली मस्यौदा बनाउने काम अझै सुरु गरेको छैन् । राष्ट्रिय सभाको बैठक लामो समय स्थगित भएकाले समितिमा रहेका सबै सदस्य गाउँ गएपछि बैठक बस्न नसकेको हो । समिति सदस्यहरु फर्किएपछि मात्र बैठक बसेर प्रक्रिया अघि बढाउने समिति सदस्य राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।

    राष्ट्रिय सभाको नियमावली मस्यौदा समितिमा गणेश तिमल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी रावल, सुरेन्द्र पाण्डे, राधेश्याम अधिकारी, दिनानाथ शर्मा, जीवन बुढा, वृषेशचन्द्र लाल, प्रमिला कुमारी सदस्य हुनुहन्छ । समिति सदस्य रहेका गणेश तिमल्सिना भने राष्ट्रिय सभाको अध्यक्ष पदमा चयन भइसक्नु भएको छ । 

    संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले कार्यसम्पादन सहजताका लागि नियमावलीको प्रारम्भिक मस्यौदा बनाएर दुबै समितिलाई उपलब्ध गराएको जानकारी दिनुभयो । सचिवालयले यसअघिको अभ्यास र अन्तर्राष्ट्रिय मान्यतालाई आधार मानेर नियमावलीको प्रारम्भिक मस्यौदा बनाएको गौतमको भनाई छ । यद्यपि, नियमावलीको मस्यौदा तयार बनाउने सर्वाधिकार समितिलाई दिइएको गौतमले बताउनुभयो ।

    गत फागुन २२ गते बसेका दुबै सदनका छुट्टाछुट्टै बैठकले नियमावली बनाउन आ–आफ्नै समिति बनाएका हुन् । दुबै समितिलाई मस्यौदा बनाउने समयावधी एक महिनाको दिइएको छ । नियमावली नहुँदा अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तरिम कार्यविधीबाट सञ्चालन गरिएको छ । 

     

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्