कांग्रेसमा गुटउपगुटको छाँया गाउँसम्म पुग्नु दुखद : नुवाकोट सम्मेलन

- कृष्ण थापा, नुवाकोट

    चैत्र ८, २०७४

    पार्टीको कोषलाई व्यवस्थित र पारदर्शी गर्न आगामी तीन महिनाभित्र बैकिङ प्रणालीबाट कार्य संचालन गर्ने निर्णय गर्दै नेपाली काग्रेस जिल्ला कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन सकिएको छ । सम्मेलनले आज ११ बुँदे नुवाकोट घोषणापत्र समेत जारी गरेको छ । सम्मेलनले राष्ट्रिय महाधिवेशनका समय नेतृत्व चयनका बेला स्वत: आन्तिरिक प्रतिस्पर्धा स्वभाविक भएपनि गुटउपगुटको समस्या गाउँतहसम्म फैलिएको प्रति भने दु:ख व्यक्त गरेको छ ।

    घोषणा पत्रमा भनिएको छ, पार्टीमा रहेको गुट उपगुटको अवस्था अन्त्य गरी पार्टीलाई भावनात्मक रुपमा एकजुट गराई संगठन निर्माणमा जुट्न केन्द्रीय समितिबाटै एकताको सन्देशका लागि पहल हुन आवश्यक छ । पार्टीको विधान संशोधन र संगठनको सुदृढिकरण गर्न पार्टी संगठनलाई गाउँसम्म पुर्‍याउने र एकताको संदेश प्रवाह गर्न अविलम्ब पार्टीको महासमिति बैठक बोलाउन कोषाध्यक्षहरुले आग्रह गरेका छन् । सम्मेलनले ७ प्रदेशमा प्रदेश समिति गठन गर्न हालको राष्ट्रिय समिति पुर्नगठन साथै सचिवालय गठन गर्ने अधिकार भने अध्यक्षलाई दिएको छ । 

    सम्मेलनले वामपन्थी एकता, भारतले लगाएको नाकाबन्दी विरुद्ध पार्टी मौन वस्नु, पार्टीभित्र आन्तरिक व्यवस्थापन नहुनु, उम्मेदवार चयनमा पक्षपात हुनु, निर्वाचनमा पार्टी पंक्तिलाई परिचालन गर्न नसक्नु, अन्तर्घात हुनु, राजनीतिक शान्ति–स्थिरता ल्याउन पार्टीको योगदानबारे जनतालाई बुझाउन नसक्नुलाई र पार्टीमा सबै निकायले पूर्णता नपाउनुलाई निर्वाचनमा हार व्यहोर्नुको प्रमुख कारणका रुपमा चित्रण गरेको छ । सम्मेलनले पार्टीको संरचालाई व्यवस्थित गर्न अविलम्ब पार्टी विधान संसोधन प्रक्रियामा जान आग्रह गरेको छ । 

    पार्टीको विधि विधान, परिधि र पद्धतिभित्र रहन आग्रह गर्दै सम्मेलनले पार्टीको सबै समिति  पदाधिकारीको संख्या र कार्यसमितिमा कम्तिमा ५० प्रतिशतका दरले बृद्धि गर्न केन्द्रीय समितिलाई सुझाईएको छ । घोषणापत्रमा तीन महिनाभित्र बैकिङ प्रणालीबाट कार्य संचालन गर्ने, संविधानले व्यवस्था गरेको तीन तहको निर्वाचन स्वच्छ र निष्पक्ष सम्पन्न गरी संविधान कार्यन्वयन, राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढिकरण गर्न योगदान गर्ने लगायत बुँदा समेटिएका छन् । 

    यसैगरी सम्मेलनले कोषाध्यक्षहरुको तेस्रो सम्मेलन ०७५ चैत मसान्तभित्र प्रदेश ४ को राजधानी पोखरामा गर्ने निर्णय गरेको छ । 

    प्रकाशित:चैत्र ८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्