बजेटलाई प्रभावकारी बनाउन प्रदेश सभा सदस्यको सुझाव

- अमृता अनमोल, बुटवल

    वैशाख २, २०७५

    प्रदेश ५ सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी बनाउन केही कार्यक्रम हेरफेर गर्न प्रदेश सभा सदस्यले सुझाव दिएका छन् । अस्थायी मुकाम बुटवलमा आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदले बजेटलाई जनस्तरसम्म पुर्‍याउन सबै क्षेत्र र भूगोललाई समेट्न सुझाव दिएका हुन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद बीरबहादुर रानाले बजेटमा एक जिल्ला एक नमूना कार्यक्रम समेट्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

    कांग्रेसकै तर्फबाट बोल्दै सांसद अष्टभूजा पाठकले बजेट तल्लो तहको जनस्तरसम्म नपुगेकाले केही कार्यक्रम हेरफेर गर्न आग्रह गर्नुभयो । संघीय समाजवादी फोरमका सांसद सन्तोष कुमार पाण्डेले बजेट स–साना समस्या समाधान गर्ने विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो । सत्तापक्षका सांसदले भने छोटो समयका लागि बजेट आएकाले यसलाई राम्रो मान्नुपर्ने बताएका छन् । सांसदले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले तल्लो तहसम्म संरचना नभएकाले बजेट जनस्तरसम्म नपुगेको बताउनुभयो । उहाँले तल्लो तहसम्म प्रदेश संरचना नभएकै कारण सञ्चित कोषमा रकम राखेर आगामी वर्ष खर्च गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

    सरकारले पेस गरेको बजेट माथिको छलफल भोलि पनि जारी रहने प्रदेश संसद सचिवालयले जनाएको छ । अस्ति शुक्रबार प्रदेश ५ सरकारले एक अर्ब २ करोड ५ लाख बराबरको बजेट प्रदेश सभामा पेश गरेको थियो । 

    प्रकाशित:वैशाख २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्