एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ता निष्कर्ष विहिन

काठमाडौं

    वैशाख ३, २०७५

    – पार्टी एकताबारे देखिएको अन्योल चिर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको वान टु वान वार्ता पनि ठोस सहमति बिना नै टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुइ नेताहरु भोलि बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउन राजी भएका छन् । एकता समितिको बैठक बिहान ९ बजे बोलाइएको माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

    सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न आजै बिहान राजधानी फर्किनु भएको थियो । माओवादी केन्द्रभित्र सम्मानजनक एकता हुनुपर्ने र जनयुद्धलाई एकीकृत पार्टीको बिधानमा समावेश गराउनु पर्ने मत बलियो बन्दै गएका बेला दुई नेताबीच पछिल्लो भेट भएको हो । 

    प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई पार्टीका अध्यक्षको भेट अत्यन्त सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार पार्टी एकीकरणलाई लिएर दुबै नेताहरुले गम्भीर रुपमा छलफल गर्नुभएको छ । त्यसैको निरन्तरता स्वरुप एमालेको स्थायी समिति बैठक बोलाइएको उहाँले उल्लेख गर्नुभयो । 

    तर, माओवादी अध्यक्ष दाहालको सचिवालयले भने शीर्षस्थ नेताहरुबीच आजको छलफलले सम्वादहिनताको अन्त्यमात्रै गरेको प्रतिक्रिया दिएको छ । एकता संयोजन समितिको बैठकअघि दुबै पार्टीमा आन्तरिक छलफल गर्ने सहमति दुइ नेताबीच भएको छ । 

     

    प्रकाशित:वैशाख ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्