राजधानी सार्न हेटौडालाई बनाएको हैन : सभापति देउवा

हेटौंडा

    वैशाख ४, २०७५

    - मकवानपुरका जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजले हेटौंडालाई नै प्रदेश ३ को स्थायी राजधानी कायम गर्न माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

    तरुण दलको प्रशिक्षण कार्यक्रममा सहभागी हुन हेटौंडामा रहेका सभापति देउवालाई जिल्ला समन्वय समिति नेतृत्वको टोलीले हेटौडालाई राजधानी कायम गर्नुपर्ने सात आधारसहित ध्यानकर्षण पत्र बुझाएको हो । उनीहरुले हेटौंडा आउन–जान अपायक र टाढा भयो भन्ने ‘हल्का र सतही’ कुराले राजधानी सार्ने जस्तो ‘अपरिपक्व र अदुरदर्शी’ निर्णय नहुने विश्वास समेत व्यक्त गरेका थिए ।

    पर्याप्त भौतिक संरचना र विस्तार गर्न जग्गा भएको, ५ वटा राष्ट्रिय राजमार्गले छोएको, हेटौंडामा राजधानी राख्दा कतै विरोध नभएको तर्क गर्दै उनीहरुले विकेन्द्रीकरणको सिद्धान्तअनुसार हेटौंडालाई राजधानी कायम गर्न उपयुक्त हुने दाबी गरेका छन् । 

    जवाफमा पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले आफ्नो मात्रै केही नलाग्ने बताउँदै आफ्नो नेतृत्वको सरकारलेस्थायी राजधानीको कल्पना सहित हेटौडामा अस्थायी मुकाम कायम गरेको जानकारी दिनुभयो । 

    स्थायी राजधानी कायम गर्न माग गर्दै काभ्रे, नुवाकोट र भक्तपुरले प्रदेश सभा सचिवालयमा छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् । 

     

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्