विदेशी विनिमय सञ्चिति ३० अर्ब रुपैयाँले घट्यो

काठमाडौं

    वैशाख ४, २०७५

    – चालु आर्थिक वर्षको ८ महिनामा कुल विदेशी विनिमय सञ्चिति ३० अर्ब रुपैयाँले घटेको छ । बढ्दो चालु खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेपछि विदेशी मुद्रा सञ्चितिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत फागुन सम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ छ । यो गत असारको तुलनामा २ दशमलव ८ प्रतिशतले कम हो ।

    अघिल्लो वर्षको सोही अवधिमा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा असारसम्म आइपुग्दा २ अर्बले बढेर १० खर्ब ७९ अर्ब पुगेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चित भने शुन्य दशमलव ७ प्रतिशतले वृद्धि भई ९ खर्ब ३३ अर्ब ५० करोड पुगेको छ ।

    गत असारमा केन्द्रिय बैंकसँग यस्तो सञ्चिति ९ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । तर बैंक तथा वित्तिय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति भने २४ प्रतिशतले घटेर १ खर्ब १५ अर्ब ७३ करोड पुगेको छ । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ७ प्रतिशत छ । कुल विदेशी मुद्रामा कमी आए पनि अझै मुलुकसँग ९ महिना ७ दिन पुग्ने वस्तु तथा सेवा आयात गर्न सकिने बराबरको विदेशी मुद्रा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

     

    प्रकाशित:वैशाख ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्