विद्यार्थी भर्ना अभियान तीब्र

- पार्वता चौधरी, काठमाडौं
  • बीचमै पढाई छाड्नु समस्याको जड

वैशाख ५, २०७५

– नयाँ शैक्षिक सत्र सुरु भएसंगै सरकारले विद्यार्थी भर्ना अभियानलाई तीब्र पारेको छ । अभियानमा प्रधानमन्त्रीदेखि विभिन्न विद्याार्थी संगठनका नेताहरु समेतको सहभागिता छ । सहभागी भएका छन् । अनेक कारणले विद्यालय जान नसकेका मध्ये कम्तिमा एउटा बालबालिकाको अभिभावकत्व ग्रहण गरि पठनपाठनमा सघाउन सरकारले सबैमा अपिल समेत गरेको छ । 

सिरहाको रामदुलारी मावि कल्याणपुर नगरपालिका ११ का दिनेश कुमार र कौशिला देवी मण्डल खत्वेकी ५ वर्षीया छोरी रुपाकुमारी मण्डल खत्वे, भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ वर्षीय छोरा पवन मल्लिक डोमलाई विद्यालय भर्ना गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्ने चाहना सार्वजनिक गर्नुभयो । भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

यसअघि बैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएर अभियानको औपचारिक आरम्भ गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्रको भरतपुर महानगरपालिका २८ मेघौलीको साझापुर माविमा अरूण मुसहर र पत्रुस मुसहरलाई भर्ना गराउनुभएको छ । संविधानमा लेखिएका कुरा व्यवहारमा उतार्न चुनौती रहेको भन्दै उहाँले अभियानलाई उदाहरणका लागि प्रस्तुत गरेको उल्लेख गर्नुभयो । 

यस्तै एमाले महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौंको धुम्बाराहीस्थित कसन पल्टन सेकेन्डरी स्कुलमा काभ्रेकी संजिता चौलागाईलाई कक्षा १ मा भर्ना गराउनु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले धुम्बाराहीस्थित चण्डिका प्राथमिक विद्यालयमा स्याङजाकी अस्मिता धमेलको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै कक्षा ४ मा भर्ना गराउनु भएको छ ।  

सरकारले विद्यार्थी भर्ना अभियान अन्तर्गत एक जनाको अभिभावकत्व ग्रहण गर्दै भर्ना गराउने अभियान नै शुरु गरेको छ । 

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले सम्पूर्ण सरोकारवालालाई संविधानमा उल्लेख भए अनुसार आधारभूत शिक्षालाई अनिवार्य तथा निशुल्क र विद्यालय शिक्षालाई निशुल्क बनाउन आग्रह गर्नु भएको छ । 

यसअघि शिक्षासंग सरोकार राख्ने निकायका लागि मात्र भर्ना अभियान विशेष हुने गर्दथ्यो । तर यो पटक भने राजनीतिक वृत्तबाटै भर्ना अभियानलाई विशेष रुपमा प्रस्तुत गरिएको छ । यस पटक हामी सबैको इच्छा, निशुल्क आधारभूत शिक्षा नारा तय गरिएको छ । तर, समस्या विद्यार्थी भर्ना भएनन् भन्ने मात्रै हैन, भर्ना भएका विद्यार्थीले बीचमै पढाइ छाड्नु समस्याको जड हो । अब सरकारको ध्यान त्यता केन्द्रित हुनुपर्नेछ ।  

 

प्रकाशित:वैशाख ५, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्