विराटनगर जुट मिल्स सञ्चालक समितिको विवाद उत्कर्षमा

- देवनारायण साह, मोरङ

    वैशाख ३१, २०७५

    विराटनगर जुट मिल्स लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किदै गएको छ । सञ्चालक समिति दुई समूहमा विभाजित भएका छन् । समितिका अध्यक्ष बसन्त बन र प्रबन्ध निर्देशक रहेका पूर्व अध्यक्ष निलहरी काफ्ले बीचको विवादले समिति दुई समूहमा विभाजित भएका हुन् । सरकारले मिल्सका सञ्चालक समिति अध्यक्षमा २०७२ असारमा नियुक्त गरेका निलहरी काफ्लेले २०७४ असार २३ गते राजीनामा दिए ।

    काफ्लेले योजनाबद्ध रुपमा २०७४ असार २४ गते विशेष साधारण सभा बोलाउन लगाएर कार्यकारी प्रबन्ध निर्देशकको पद सृजना गर्‍यो र आफूलाई सञ्चालक समिति सदस्यमा निर्वाचित गराए ।  उनी २०७४ असार २५ गते पुन: अध्यक्ष भए र साउन ६ गते पदबाट राजिनामा दिएको स्वीकारे । काफ्ले साउन ८ गते सोलुखुम्बुका बसन्त बनलाई अध्यक्ष बनाएको बताए । अध्यक्ष बनले काफ्लेलाई सोही दिन प्रबन्ध निर्देशक पदमा ४१ हजार १ सय ३० रुपैयाँ मासिक तलब भत्ता र कार्यकारी अधिकारसहित नियुक्त गरे । 

    प्रबन्ध निर्देशक काफ्लेले मिल्स सञ्चालन गर्ने योजना बनाएर २०७४ मंसिरमा ८५ जना कामदारलाई रोजगारी दिएर मिल्स सञ्चालन गरेका थिए । मिल्स सञ्चालन भएको तीन महिना नबित्दै फागुन पहिलो साता विद्युत महसुल नतिरेकोले लाइन काटिंदा पुन: बन्द भएको हो । मिल्समा सम्पूर्ण अधिकार काफ्लेले एकलौटी रुपमा प्रयोग गर्न थालेपछि बन असन्तुष्ट बन्दै गएको मिल्सका कर्मचारीहरु बताउँछन् । मिल्सको ९ विघा १६ कठ्ठा जग्गा सीमा सुरक्षा कार्यालय मोरङलाई बिक्री गर्ने र त्यसबाट आएको रकमले मिल्सको ऋण तिर्नुका साथै सञ्चालन गर्ने योजना प्रबन्ध निर्देशक काफ्लेले बनाए ।

    काफ्लेले उक्त फाइल लिएर गएपछि अध्यक्ष बनलाई समेत बोलाएर मन्त्री यादवले मिल्स बेचेर खाने योजना बनाएको भन्दै कारबाही गर्ने चेतानबनी दिए । यसैबीचमा मन्त्री यादवले मिल्सको अनुगमन गरी न्यायिक छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्ने र मिल्स सञ्चालन गर्ने आश्वासन दिएर फर्के । 

    उद्योग, वाणिज्य तथा आप्रति मन्त्री मातृका यादवको चेतावनी पछि बन र काफ्लेको समूहमा सञ्चालक समिति विभाजन भएको मिल्स सञ्चालक समिति स्रोतले जनायो । 

    यसअघि कम्पनी रजिष्टारको कार्यालयले पटक पटक पत्राचार गरी २०७४ असार २४ गतेको विशेष साधारण सभाको निर्णय कार्यान्वयन नगराउन गर्दै आएको थियो । अध्यक्ष बनले उक्त पत्रको आधार बनाएर २०७५ बैशाख १३ गते काफ्लेलाई २०७४ असार २४ गतेको विशेष साधारण सभा निर्णय खारेज भएकोले प्रबन्ध निर्देशक पदसमेत खारेज भएको पत्राचार गरी जानकारी गराए । अध्यक्ष बनको पक्षमा ७ सदस्यीय सञ्चालक समितिमध्ये किशोर शाही, डा. इन्दिरा पराजुली र देवचन्द्र चौधरी देखिए भने काफ्लेको पक्षमा मुकुन्द नेपाल र फूलकुमार लालबानी देखिएको छ । 

    २०७४ असार २४ गतेको बिशेष साधारण सभामा मन्त्रालयका प्रतिनिधि र केही सदस्यहरु असन्तुष्ट भएर निर्णयमा असहमति जनाएको थियो तर कार्यकारी निर्देशक काफ्लेले सर्वसम्मत निर्णय भएको प्रतिवेदन मन्त्रालय, विभाग र कम्पनी रजिष्टारको कार्यालयमा बुझाएका थिए । उक्त कारणले अध्यक्ष बनले काफ्लेको पद नै खारेज हुने गरी आफूलाई सुरक्षित गर्ने प्रयत्न गरेको पूर्व सञ्चालक समितिका सदस्यहरु बताउँछन् । 

    काफ्लेले आफू नियमसंगत ढंगले प्रबन्ध निर्देशक भएको भन्दै उच्च अदालत पाटनमा उत्प्रेषण परमादेशका लागि निवेदन दत्र्ता गराए । उच्च अदालत पाटनका न्यायधिस कृष्ण कमल अधिकारकिो एकल इजलासले बैसाख २७ गते अध्यक्ष बन लगायतको नाममा कार्यकारी निर्देशक पद खारेजको निर्णय यथास्थितिमा राखी जेठ ३ गते छलफलका लागि आउन आदेश दिएको छ । अध्यक्ष बनले कायृकारी निर्देशक काफ्लेले आफूलाई कुनै जानकारी नै नदिई मिल्सको हकहित विपरीतको काम गर्न थालेपछि आफू सचेत भएर उनको विरोद्धमा उत्रेको दावी गरे । काफ्लेले अध्यक्ष बनलाई मिल्समा आफूले ल्याएको तर उनले आफूसँग विश्वासघात गरेको आरोप लगाए । 

    मिल्सको विराटनगरस्थित ६७ विघा र दमक लगायतको ठाउँमा गरी कुल ६८ विघा जग्गा रहेको छ । नयाँ र पुरानो गरी दुई वटा मिल र संसारमा तीन वटा मात्रै रहेको दुर्लभ जेनेरेटर मिल्सको पाबर हाउसमा छ । मिल्सको कुल ९३ हजार ७ सय ५० कित्ता शेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता शेयर रहेको छ ।

    मिल्सको हाल ५ अर्ब बढी रुपैयाँको दायित्व तिर्न बाँकी रहेको छ । मिल्सको १० करोड बढीको मेसिन तथा मेसिनरी पार्टसपूर्जा अवैध रुपमा बिक्री भइसकेको छ । तर मिल्स सञ्चालकले औद्योगिक प्रतिष्ठानको मोडेलमा मिल्स सञ्चालनको प्रयास गरिरहेका छन् । मिल्स सञ्चालन गर्ने पक्षमा सरकार पनि देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शनिबार मिल्सको निरीक्षण गरेका हुन् । 

    प्रकाशित:वैशाख ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्