एमडी भर्नाका लागि तोकिएको शुल्क परिवर्तन हुँदैन : शिक्षामन्त्री

- इन्द्रलक्ष्मी घिमिरे, काठमाडौं
    कुनै पनि बहाना र कसैको दबाबमा सरकार निर्णय कार्यान्वयनबाट पछि नहट्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै कुरा सच्चाउनु छ भने पनि प्रक्रियागत रुपमा मात्रै सच्याइन्छ ।”

    जेष्ठ २, २०७५

    - शिक्षामन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को भर्नाका लागि यसअघि तोकेको शुल्कमा कुनै परिवर्तन नहुनेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा शिक्षालाई थप व्यवस्थित बनाउन भन्दै सरकारद्वारा पूर्व घोषित निर्णय कार्यान्वयनमा सरकार कटिबद्ध रहेको मन्त्री पोखरेलले बताउनुभयो । 

    मन्त्री पोखरेलले भन्नुभयो, “सरकार आवश्यक छलफलका लागि तयार छ, तर निर्णयबाट पछि हट्दैन, अहिले लागू गर्ने बेलामा लागू नगरेर समस्या समाधान हुँदैन र  निर्णय परिवर्तनको कुरा गर्नुको अर्थ पनि छैन । मैले, डीनहरुसँग कुरा गरेर प्रक्रियागत रुपमा समाधानको बाटो पहिल्याउन  समेत भनेको छु ।”

    कुनै पनि बहाना र कसैको दबाबमा सरकार निर्णय कार्यान्वयनबाट पछि नहट्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,  “कुनै कुरा सच्चाउनु छ भने पनि प्रक्रियागत रुपमा मात्रै सच्याइन्छ ।” यद्यपि आन्दोलनरत विद्यार्थीहरुको मागबारे आवश्यक अनुगमन गरी समस्या समाधानका लागि निर्देशन दिइसकेको उहाँले बताउनुभयो । 

    यसैबीच एमडी तहको भर्नाका लागि केही कलेजले सरकारले तोकेको मापदण्डभन्दा बढी रकम मागेको भन्दै  विधार्थी एवं सरोकारवालाले विरोधमा जारी राखेका छन् । सरकारले नै शुल्क तोकिसकेको अवस्थामा विभिन्न शीर्षक थपेर तोकिएको भन्दा बढी शूल्क लिन खोजेको भन्दै गत सातादेखि उनीहरु विरोधमा उत्रिएका हुन् ।

    आज पनि उनीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको कार्यकक्षमा धर्ना दिएको डाक्टर सोसाइटी अफ नेपालकी महासचिव तोशिमा कार्कीले जानकारी दिनुभयो । विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्धारण गरेको शुल्क अनुसार  क्लिनिकलतर्फ २२ लाख र बेसिकतर्फ १२ लाख ३ हजार सात सय ७६  तोकिएको थियो । तर मेडिकल कलेज सञ्चालकले सो शुल्कभन्दा बढी माग गरेपछि समस्या चुलिएको हो ।  

     

    प्रकाशित:जेष्ठ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्