एमाले–माओवादी केन्द्रबीच एकता घोषणा हुँदै

काठमाडौं
  • संयोजन समिति बैठक जारी

जेष्ठ ३, २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुँदैछ । सात महिना लामो छलफल र बहसपछि दुई पार्टीले आज अपरान्ह बिशेष कार्यक्रम आयोजना गरी पार्टी एकीकरण घोषणा गर्ने भएका हुन् ।

एकीकृत पार्टीका दस्तावेज र पार्टी एकीकरणको सहमति पत्रलाई अन्तिम रुप दिन राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अहिले एकता संयोजन समितिको बैठक बसिरहेको छ । बैठक जारी रहेका समय सरकारी निवास परिषरमै संयोजन समितिका सम्पूर्ण सदस्यले बृक्षारोपण गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीकाअनुसार, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वको पुरानो मध्येको एक मानिने जिन्को वाईलोवा विरुवा रोपेर एकीकृत पार्टी दिगो र बलियो बन्ने संकेत दिनुभएको छ ।  

दुवै अध्यक्षबीच हिजो जुटेको सहमति अनुमोदन गर्दै संयोजन समितिले एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन लागेको हो । संयोजन समिति बैठक लगत्तै एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बस्नेछ । एमालेले संयोजन समिति बैठक लगत्तै वालुवाटारमै केन्द्रीय कमिटि बैठक बोलाएको छ भने ललतिपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा माओवादी केन्द्रको हेडक्वाटरको विस्तारित बैठक बस्नेछ । सो लगत्तै अपरान्ह दुई दलबीच संयुक्त बैठक बसी एकीकरण अनुमोदन गर्ने र राष्ट्रियसभामा कार्यक्रम गरी पार्टी एकीकरण घोषणा गर्ने तय गरेका छन् । 

संयोजन समिति सदस्य समेत रहेका एमाले नेता सुवास नेम्बाङका अनुसार, संयोजन समितिले दुई अध्यक्षबीच भएका सहमति, एकीकृत पार्टीको नाम, झण्डा र चुनाव चिन्ह, केन्द्रीय कमिटि र स्थायी समितिको संख्या, एकीकृत पार्टीको विधानलगायत सम्पूर्ण विषय अनुमोदन गर्नेछ । माक्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्दै दुवै दल एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्न सहमत भएका छन् ।

चुनाव चिन्ह भने सूर्य हुनेछ । ४ सय ४१ सदस्यीय कन्द्रीय समिति, ४३ सदस्यीय स्थायी समिति रहने सहमति जुटेको छ । पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रुपमा गर्ने, सरकार सञ्चालनमा एमाले अध्यक्ष ओली र पार्टी सञ्चालनमा माओवादी अध्यक्ष दाहालले बढी सक्रियता देखाउने, आन्तरिक सम्पूर्ण तयारी पूरा गरी २ वर्षभित्र महाधिवेशन गर्ने, एकीकृत पार्टीको केन्द्रीय कमिटिबाट नेताहरुको वरियाता र जिम्मेवारी तोक्ने लगायत सहमति समेत जुटेको एमाले सचिव योगेश भट्टराईले बताउनुभयो । एकता घोषणा लगत्तै निर्वाचन आयोगलाई पार्टी एकताबारे जानकारी गराउने तयारी समेत दुवै दलले गरेका छन् । 

प्रकाशित:जेष्ठ ३, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्