व्यापार घाटा ८ खर्ब नाघ्यो, रेमिट्यान्समा भने सुधारं

काठमाडौं

    जेष्ठ ३, २०७५

    उच्च आयातसँगै मुलुकको व्यापार घाटा ८ खर्ब नाघेको छ । राष्ट्र बैंकले आज देशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै चालु आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ८ खर्ब १६ अर्ब ५५ करोड पुगेको जनाएको हो ।

    चैतसम्म सबैभन्दा धेरै १ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ मात्रै आयात भएको छ । ८० अर्ब रुपैयाँको सवारी साधन तथा यसका पार्टपूर्जा आयात भएको राष्ट्र बैंकले जनाएको छ । नौ महिनामा नेपालबाट कुल वस्तु निर्यात भने जम्मा ५९ अर्ब ७४ करोड रहेको छ ।

    फागुनमा २४ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको शोधानान्तर स्थिति चैतमा भने १४ अर्ब ६० करोड रुपैयाँमा झरेको छ । गत बर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५० अर्ब ६० करोड रुपैयाँले बचतमा थियो । यस्तै ५ दशमलव ६ प्रतिशतले बढेर चैतसम्म ५ खर्ब ४० अर्ब ३८ करोड रेमिट्यान्स मुलुक भित्रिएको छ । विदेशी विनिमय सञ्चिति भने चैत मसान्तसम्म आइपुग्दा १ दशमव ४ प्रतिशतले घटेर १० खर्ब ६४ अर्बमा झरेको छ ।

    गत वर्ष ३ दशमलव ८ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिती तरकारी तथा अन्य खाद्यान्नमा भएको वृद्धिका कारण  ५ दशमलव ३ प्रतिशत पुगेको छ । आगामी समयमा सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय क्षेत्रमा देखिएको असन्तुलनमा भने सहजता आउने केन्द्रीय बैंकको अपेक्षा छ । 

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्