नेकपा एमाले र माओवादी केन्दबीच एकता घोषणा

काठमाडौं

    जेष्ठ ३, २०७५

    नेकपा एमाले र माओवादी केन्दबीच एकता भएको छ । लामो समयको छलफल र बहसलाई अन्तिम रुप दिदै दुई दल एक भएका हुन् । राजधानीको सभागृहमा आज साँझ पत्रकार सम्मेलनको आयोजना गरी दुई पार्टी एकताको घोषणा गरिएको हो । 

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा सुवास नेम्वाङ, देव गुरुङ लगायत नेता निर्वाचन आयोग पुगी नयाँ दल नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निवेदन दिएका छन् । अर्को दलसँग नाम नजुधोस् भन्नका लागि नेपाल कम्युनिष्ट पार्टीमा अन्डरलाईन गरी दल दर्ताका लागि निवेदन दिइएको नेता सुभास नेम्वाङले जानकारी दिनुभयो । 

    त्यसअघि वाम एकता संयोजन समितिको आज विहान बसेको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । सो निर्णयलाई दुवै दलको केन्द्रीय कमिटि बैठकले अनुमोदन गर्दै आ–आफ्नो केन्द्रीय समिति भंग गरेका थिए । त्यसलगत्तै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको एकीकृत पार्टीको पहिलो बैठकमा नेकपा कम्युनिष्ट पार्टीका नेताहरुले सामुहिक शपथ ग्रहण गरेका थिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एकता ऐतिहासिक भएको बताउनुभयो । 

    अर्का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टीका नाममा रहेका सम्पूर्ण सम्पत्ति तथा दायीत्व अब नवगठित दलको भएको उल्लेख गर्नुभयो । 

    एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद–लेनिनवाद रहने भएको छ । चुनाव चिन्ह भने सूर्य नै हुनेछ । एकीकृत पार्टीमा ९ सदस्यीय हाईकमाण्ड रहने भएको छ ।  हाइकमाण्डमा अध्यक्षद्धय ओली र दाहाल तथा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् ।

    हाइकमाण्डको प्रवक्तामा नारायणकाजी श्रेष्ठ र संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ । ४५ सदस्यीय स्थायी समिति र ४ सय ४१ सदस्यीय कन्द्रीय समिति रहने नेता इश्वर पोखरेलले जानकारी दिनुभयो । 

    पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रुपमा गर्ने, सरकार सञ्चालनमा एमाले अध्यक्ष ओली र पार्टी सञ्चालनमा माओवादी अध्यक्ष दाहालले बढी सक्रियता देखाउने, आन्तरिक सम्पूर्ण तयारी पूरा गरी २ बर्षभित्र महाधिवेशन गर्ने, एकीकृत पार्टीको केन्द्रीय कमिटिबाट नेताहरुको वरियाता र जिम्मेवारी तोक्ने निर्णय भएको छ । 

    त्यसअघि विहान एकता संयोजन समितिको बैठक जारी रहेका समय सरकारी निवास परिषरमै संयोजन समितिका सम्पूर्ण सदस्यले बृक्षारोपण गरेका थिए । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीकाअनुसार, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वको पुरानो मध्येको एक मानिने जिन्को वाईलोवा विरुवा रोपेर एकीकृत पार्टी दिगो र बलियो बन्ने संकेत दिनुभएको थियो । 

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्