राष्ट्र बैंकलाई अटेर गर्दै बैंकहरु, स्प्रेडदर ५ प्रतिशत भन्दा माथि

- केशु लामिछाने , काठमाडौं

    जेष्ठ १०, २०७५

    नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको औषत व्याजदर अन्तर स्प्रेडदरमा ५ प्रतिशतको सीमा लगाएपनि बैकहरुले त्यो भन्दा माथि लगानी गरेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासको समिक्षा प्रतिवेदनमा चैत मसान्तसम्म बैंकहरुको स्प्रेडदर ५ प्रतिशत भन्दा माथि पुगेको पाइएको हो ।

    निक्षेपको औषत ब्याजदर ६ दशमलव ६४ प्रतिशत र ऋणको औषत ब्याजदर १२ दशमलव १० प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । स्प्रेडदर ५ दशमलव ४६ प्रतिशत रहेको छ  । यस्तै राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत ऋण बिस्तार गर्नुपर्ने अनिवार्य व्यवस्था गरेपनि बैंकहरुले चैतसम्म २१ दशमलव ७ प्रतिशत मात्र कर्जा बिस्तार गरेका छन् । 

    असारसम्म कृषिमा १०, जलविद्युत र पर्यटनमा ५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था भएपनि समिक्षा अवधिमा बैंकहरुले क्रमश ७ दशमलव ३, ३ दशमलव ३, र ३ दशमलव ५ प्रतिशत कर्जा प्रवाह गरेक प्रतिवेदनमा उल्लेख छ । निर्यातमुलक, साना तथा मझौला, औषधी लगायतका क्षेत्रमा भने बैंकहरुले लक्ष्यको २ दशमलव ६ प्रतिशत बढि लगानी गरेका छन् ।

    यस्तै केन्द्रीय बैंकले बाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये ३७ अर्ब रुपैयाँ बराबरको कर्जालाई सुक्ष्म निगरानीमा राखेको जनाएको छ । ३३ अर्ब निष्क्रिय कर्जामध्ये १५ अर्ब खराब, १० अर्ब कमसल, ७ अर्ब शंकास्पदमा राखेको छ । केन्द्रीय बैंकले कडाई गरेको ओभरड्राफ्ट, घरजग्गा, हायर पर्चेज, शेयर मार्जिन कर्जामा भने बैंकहरुले लगानी घटाएका छन् ।

    यस्तै चैतमसान्तसम्म अझै ३ वटा वाणिज्य बैंकहरुले तोकिएको कर्जा पुर्‍याएउन बाँकी रहेको समिक्षामा उल्लेख छ । आर्थिक बर्ष सकिनै लाग्दा सरकारको पुँजीगत खर्च बढ्न गई बैकिङ क्षेत्रको तरलतामा थप सुधार हुने अपेक्षा राष्ट्र बैंकको छ । वित्तीय अवस्थाको समिक्षा गर्दै राष्ट्र बैंकले व्याजदर स्थायित्व कायम गर्न ब्याजदर करिडोर प्रणालीलाई थप प्रभावकारी बनाउने दाबी गरेको छ ।

    प्रकाशित:जेष्ठ १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्