ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच प्रशारण लाइन निर्माणबारे छलफल

काठमाडौं

    जेष्ठ १०, २०७५

    ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री बर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्धिपक्षिय हित र सम्बन्धका विषयमा छलफल भएको छ । मन्त्री पुनसंगको भेटमा अमेरिकी राजदूत टेप्लिजले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका ईच्छुक रहेको बताउनुभएको छ ।  

    मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसीसी नेपाल कमप्याक्ट मार्फत नेपालको विकास र ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो । भेटमा एमसीसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी हुनुहुन्थ्यो । 

    मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसीसीसंग सम्बन्धित कार्यक्रम समयभित्र पूरा गर्ने तयारी ऊर्जा मन्त्रालयले गरेको बताउनुभयो । उहाँले त्यसका लागि सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत राख्नुभयो । 

    मन्त्री पुनले भन्नुभयो, ‘एमसीसी नेपाल कम्प्याक्ट महत्कांक्षी कार्यक्रम हो, यो भन्दा बढी महत्वंकाक्षी बुटवल–अत्तरिया प्रशारण लाइन बनाउने मन्त्रालयको योजना छ, त्यसैले हाम्रो तर्फबाट एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौ ।’ 

    उहाँले एमसीसीलाई नमूना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारी समेत दिनुभयो । नेपालमा राजनीतिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीको लागि वातावरण बनाईदिन आग्रह गर्नुभयो ।

    मन्त्री पुनले एमसीसी परियोजना सुरु भएको पांच वर्षभित्र निर्माण भइसक्नुपर्ने प्रावधानबारे आफू जानकार रहेको भन्दै पूर्व तयारीको काम पनि समयभित्र पूरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने बताउनुभयो । 

    एमसीसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्सले एमसीसी वैदेशिक लगानीको सूचकका रुपमा भएको बताउनुभयो । एमसीसी नेपाल कमप्याक्ट परियोजन अन्र्तगत अमेरिकाले नेपालको ऊर्जा र सडक निर्माणमा ५० अर्ब बरावरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।  

    एमसीसी कम्याक्ट अन्र्तगत अमेरिकाले प्रशारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ । एमसीसी अन्र्तगत रातोमाटे–दमौली, दमौली–वुटवल, वुटवल–हेटौंडा र रातोमाटे देखि लप्सीफेदीसम्म ४ सय केभीको प्रशारण लाइन निर्माण हुनेछ । त्यसैगरी बुटवलदेखि सुनौलीसम्म अन्र्तदेशिय प्रशारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ । 

    प्रकाशित:जेष्ठ १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्