तरकारी खेतीबाट मनग्य आम्दानी

- देवनारायण साह, मोरङ

    जेष्ठ १२, २०७५

    जहदा गाउँपालिका ४ का देवानन्द साहले ५ विघा जग्गामा तरकारी खेती गर्दै आएको छ । उनले तरकारी खेतीबाट वार्षिक ७ देखि ८ लाख सम्म आम्दानी गर्दै आएका छन् । ‘वर्षमा तरकारी खेतीको दुई वटा सिजन हुन्छ, हिउँदे र वर्षे, उनले भने, ‘हिउँदे तरकारीमा काउली, बन्दा, टमाटर, आलु, खुर्सानी र वर्षेमा करेला, बोरी, भिण्डी, भण्टा, खुर्सानी खेती गर्दै आएको छु ।’ 

    ६ विघा जग्गामध्ये ५ विघामा तरकारी बाली लगाउँदै आएको उनको भनाई छ । ‘अहिले २ विघामा टमाटर, करेला, भिण्डी, बोरी र खुर्सानी फलिरहेको छ,’ उनले भने, ‘खेतमा फलेको तरकारी अहिले दैनिक बजार पुर्‍याउन भ्याईनभ्याई छ र यस वर्ष असिना परेकोले तरकारी बालीमा असर गरेकोले केही कम आम्दानी हुने भएको छ ।’ उनले वर्षे तरकारी बालीबाट ३/४ लाख र हिउँदे तरकारीबाट ३/४ लाख आम्दानी हुने गरेको बताए । बाबुबाजेको पालादेखि नै तरकारी खेती हुँदै आएको र त्यसलाई नै आफूले पनि निरन्तरता दिएको उनले सुनाए । 

    खेतमा फलेको तरकारी विराटनगरमा लगेर बिक्री गर्दै आएको उनले बताए । ‘जतिसुकै तरकारी उत्पादन भए पनि बजारको अभाव हुँदैन किनकी नजिकैको बजार विराटनगरमा लगेपछि सबै तरकारी बिक्री हुन्छ,’ उनले भने, ‘तरकारी महँगिएको समयमा व्यपारीहरु खेतमा नै खरिद गर्न आइपुग्ने गरेको छ ।’

    तरकारी खेतीको आम्दानीले छोराछोरीलाई शिक्षा र जग्गा जोडेको उनले बताए ।

    ‘तरकारी खेतीले २ छोरी र २ छोरालाई राम्रो शिक्षा दिएको छु,’ उनले भने, ‘जेठी छोरी सोनी बीबीएस, छोरा देवराज कक्षा १२, अर्की छोरी लक्ष्मी कक्षा १० र अर्का छोरा सुभराज कक्षा ९ मा निजी विद्यालयमा पढदै छ ।’

    चारै छोराछोरीलाई उच्च तहसम्मको शिक्षा दिन तरकारी खेती पुग्ने व्यवस्था गरेको उनले बताए । उनले तरकारी खेतीबाट भएको आम्दानीले गाउँमा केही जग्गा जोड्नुका साथै विराटनगरमा पनि घडेरी खरिद गरेको सुनाए । 

    वर्षौंदेखि तरकारी खेती गर्दै आए पनि यहाँ समस्या धेरै भएको उनी भन्छन् । सिँचाईं, कृषि मल, गुणस्तरीय उन्नत जातको बीउ अभाव र खेतमा फलेको तरकारी बजार पुर्‍याउन बाटोको असहजता रहेको उनले गुनासो पोखे । लोहन्द्रा खोलामा पुल नभएर तरकारी विराटनगर पुर्‍याउन निकै सास्ती व्यहोर्दै आएको उनले बताए । 

    स्थानीय लक्ष्मण प्रसाद सिंहले पनि वर्षेनी १ बिघा जग्गामा तरकारी खेती गर्दै आएको बताए । ‘अहिले भण्टा, बोडी, करेला र टमाटर फलिरहेको छ,’ उनले भने, ‘बिहान देखि बेलुकासम्म एकछिनको फुर्सद हुँदैन, खेतमा तरकारी टिप्ने र बजार पुर्‍याउने मै समय बित्ने गरेको छ ।’

    अहिलेको वर्षे तरकारी बालीबाट २ लाख जति र हिउँदे तरकारीबाट पनि २ लाख गरी ४ लाखसम्म आमदानी हुने गरेको उनले सुनाए । उनले खेतीबाट नै ६ छोरी र २ छोराको लालनपालन, शिक्षादिक्षा दिनुका साथै परिवार पाल्दै आएको बताए । 

    स्थानीय पतुङ सिंहले १ हजार बढी घर परिवार किसान तराकारी खेती गर्दै आएको बताए । प्रत्येक किसानले हिउँदे र वर्षे गरी दुई पटक तरकारी बाली लगाएर मनग्यै आमदानी गरिरहेको उनको भनाई थियो । 

    जहदा गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यहाँ तरकारी ब्लक बनाएर सहयोग गरिरहेको उनले सुनाए । 

    गाउँपालिकाका कृषि संयोजक रामदेव सिंहले वडा ३ र ४ किसानहरुलाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि ब्लक निर्माण गरेर काम थालेको बताउनुभयो । 

    ‘यहाँका किसानहरुले राम्रो तरिकाले तरकारी बाली गर्दै आएकोले अझै वैज्ञानिक तरिकाले व्यवसायिक रुपमा खेती गर्न सहयोग पुर्‍याउने दृष्टिकोणले १ सय हेक्टरमा खेती गर्ने लक्ष्यका साथ तरकारी ब्लक निर्माण गरेका छौं,’ उहाँले भन्नुभयो, ‘तरकारी ब्लकका लागि गाउँपालिकाले परियोजना अन्तर्गत आएको बजेट मध्ये १७ लाख ३० बजेट उपलब्ध गराइएको छ ।’

    तरकारी ब्लकले किसानहरुलाई खेती गर्न सहज हुनुका साथै सुबिधा पनि हुने उहाँले बताउनुभयो ।

    तरकारी ब्लकका अध्यक्ष धर्मचन्द मण्डलले तरकारी ब्लक घोषणा भएपछि गाउँपालिकाले बजेट पनि उपलब्ध गराइदिएको र जसबाट किसानहरुलाई विभिन्न कृषि औजार वितरण गरेको बताउनुभयो । 

    ब्लकका सचिव तराचन्द राजवंशीले सिँचाईमा लागि १० वटा बोडिङ्ग, २५ थान पानी तान्ने विद्युतीय मोटर, १० थान पम्पसेट, स्पेयर ३५, विद्युतीय काँटा १० वटा किसानहरुलाई वितरण गरिएको बताउनुभयो ।  

    जहदा गाउँपालिका अध्यक्ष कैलासप्रसाद मण्डलले १ सय ५० विघाभन्दा बढी जग्गामा किसानहरुले तरकारी खेती गर्दै आएको बताउनुभयो । ‘तरकारी खेतीलाई व्यवस्थित गरेर गाउँपालिकाको पहिचान नै तरकारीबाट गराउने गरी काम सुरु गरेका छौं,’ उहाँले भन्नुभयो,  ‘किसानलाई वैज्ञानिक तरिकाले व्यवसायिक खेतीका लागि यस वर्ष कृषिमा ८८ लाख ७९ हजार, पुशपंक्षीमा १३ लाख ८४ हजार बजेट विनियोजन गरेर काम भइरहेको छ ।’

    उहाँले आउँदो आर्थिक वर्षमा कृषिलाई नै पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाको नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।  

    प्रकाशित:जेष्ठ १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्