डोल्पाली यार्सा टिप्न पाटन तिर, बजार सुनसान

- विष्णुलाल बुढा, डोल्पा(दुनै)

    जेष्ठ १२, २०७५

    डोल्पाका अधिकांश स्थानीयहरु यार्सा गुम्बा टिप्न पाटन तर्फ लागेपछि दुनै, जुफाल र त्रिपुराकोट बजारका साथै गाउँ सुनसान बनेका छन् । यार्सागुम्बा संकलनका लागि प्राय: स्थानीय मात्र होइन काम गर्न आएकाहरु समेत पाटन तर्फ गएपछि सदरमुकाम दुनै बजार सुनसान बनेको हो । यो अवस्था डोल्पाका अन्य बजारहरु जुफाल र त्रिपुराकोट बजारमा पनि रहेको स्थानीय हेमराज हमालले बताए ।

    स्थानीय, विद्यार्थी र कर्मचारीहरु यार्सा गुम्बा टिप्न गएपछि दुनै बजार सुनसान बनेको स्थानीय अर्जुन हिराचनले बताए । व्यापारीहरु समेत यार्सा टिप्न पाटन तर्फ लागेकाले पसलहरु समेत बन्द भएको उद्योग वाणिज्य संघ डोल्पाले जनाएको छ । यार्सा टिप्न सबै पाटन गएपछि व्यापार घटेको स्थानीय व्यवसायीको भनाई छ । 

    बैंकहरुमा समेत कारोबार न्यून भएको नेपाल बैंकका एक कर्मचारीले बताए । गत तीन दिन देखि ५ रुपैयाँ पनि व्यापार नभएको व्यापारी सत्यकुमारी कठायतले बताईन् । दैनिक रुपमा राम्रै व्यापार हुन्थ्यो तर ९ गते यता व्यापार शुन्य जस्तै रहेको गुरुङ होटेलका प्रोपराइटर भक्तबहादुर गुरुङ्ले बताए । उनले थपे, ‘मान्छे छैनन् कसरी व्यापार हुन्छ । केही दिन यस्तै हो, मानिसहरु किरा टिप्नबाट फर्के पछि अनि व्यापारमा सुधार आउंला ।’ 

    यार्सा, व्यापार, विभिन्न विकास योजनाको भुक्तानी लगायतका आर्थिक गतिविधिका कारण रामै्र कारोवार हुने सिटिजन्स बैंक डोल्पामा गत तीन दिन यता कारोवार निकै घटेको उक्त बैंकका एक कर्मचारीले जानकारी दिए । 

    विद्यार्थीहरु पाटन गएपछि विद्यालयहरु औपचारिक रुपमा खुल्ने र बन्द हुने गरेका छन् । विद्यालयहरु पुरै सुनसान रहेका छन् । एकाध विद्यार्थीहरु मात्र विद्यालय गएको भेटिन्छन् । गाउँका स्थानीयहरु पाटन गएकाले गाउँ निसाइला बनेको नारायण अधिकारीले बताए ।

    यही मौका पारेर पालो कुर्नेहरु मात्र बसेर विद्यालय र कार्यालय खोल्न बस्ने र बाँकी शिक्षक कर्मचारी घर तर्फ लागेकाले पनि सदरमुकाम सुनसान बनेको स्थानीयहरुको दाबी छ । 

    सदरमुकाम दुनै बजार यसरी सुनसान बनेकाले व्यापारमा चौपट मन्दी आएको मात्र होइन बजारमा चरोमुसो नै नभए जस्तो निसाइलो भएको स्थानीय निराकुमारी बस्नेतले बताइन् ।

    डोल्पामा वर्षको २ पटक जेठमा यार्सा टिप्ने समय र पुस माघ चिसोका कारण धेरै तराई झर्ने गरेकाले सुनसान हुने गरेको छ ।

     

    प्रकाशित:जेष्ठ १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्