परबल खेती तर्फ आकर्षित सुनसरीका किसान

- देवनारायण साह, देवानगञ्ज (सुनसरी)

    जेष्ठ १२, २०७५

    देवानगञ्ज गाउँपालिका ४ का किसान देवानन्द मेहता शास्त्रीले १८ कठ्ठामा परबल खेती गर्दै आएका छन् । परबल खेतीबाट मनग्य आम्दानी भइरहेको उनले बताए । परबल खेती छोराछोरीलाई उच्च शिक्षा दिनुका साथै घरजग्गा जोड्न समेत सफल भएको उनले सुनाए ।  यस्तै, वडा ६ का अर्का किसान देवनारायण मेहताले पनि ५ कठ्ठामा परबल खेती गर्दै आएका छन् । परबल खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाई खर्च र जीवन यापनमा सहज भएको उनले बताए ।  

    स्थानीय किसान विद्यानन्द मेहताले परबल खेती कार्तिक/मंसिरबाट सुरु हुने गरेको बताए । ‘परबलको लहरा नै रोप्ने गरिन्छ,’ उनले भने, ‘रोपेको लहरालाई माघबाट गोडमेल गर्दै कृषि मल, सिँचाई गर्न सुरु गरेपछि चैत अन्तिम हप्ताबाट परबल टिप्न सुरु भईहाल्छ ।’ 

    परबल बहुवर्षे तरकारी बाली हो र यो हप्तामा एक पटकमात्रै किसानले टिपेर बिक्री गर्छन् । परबल खेतीबाट अत्यधिक आम्दानी हुने गरेकोले किसानहरु वर्षेनी कति हुन्छ भन्न अप्ठयारो मान्ने गरेको छन् ।

    परबल खेतीमा प्रतिकठ्ठा लागत कटाएर न्यूनतम १ लाख ५० हजार अधिक्तम २ लाख ५० हजारसम्म आम्दानी हुने गरेको महतोको भनाई थियो ।

    ‘परबल दुई तरिकाले किसानले लगाउँदै आएको छ,’ उनले भने, ‘खेतमा पराल, पातपतिङ्गर ओछ्याएर त्यसैमाथि भुईमा नै परबलको लहरा फैलिन दिने र अर्को थाङ्ग्रा माथि लहरा चढाएर खेती गरिन्छ ।’ थाङ्ग्रामाथि लहरा चढाएर खेती गर्नुभन्दा जमिनमा पराल वा पातपतिङगर ओछ्याएर लहरा फैल्दा परबल बढी सप्रिने गरेको उनको भनाई छ । 

    ‘जमिनमा फैलिएको परबलको लहराको प्रत्येक पातमा २ देखि ४ वटा परबल फल्छ र किसानलाई बढी फाइदा हुन्छ,’ उनले भने, ‘परबलको लहरा जमिनमा परालमाथि फैलिँदा प्रत्येक पात उम्रेको ठाउँबाट जरा पलाएर जमिनसम्म फैलिन्छ र बढी फल्छ तर थाङ्ग्रामाथि चढाएपछि जरो पलाउन पाउँदैन त्यसैले कम फल्छ ।’ दुई कठ्ठामा परबल खेतीबाट ६ लाख आम्दानी गरेको उनले बताए । 

    अर्का किसान बैजनाथ मेहताले जमिनमा लहरा फलिएको परबल खेतीमा प्रत्येक हप्ता प्रति कठ्ठा ६ मनसम्म फल्ने गरेको बताए । ‘थाङ्ग्रामा चढाएको लहराको जरो एक ठाउँमात्रै भएकोले त्यहाँबाट मात्रै परबलको बिरुवालाई शक्ति प्राप्त हुन्छ,’ उनले भने, ‘तर जमिनमा नै फैल्न दिएर गरिने खेतीमा पातपातमा जरा उम्रेर जमिनबाट शक्ति प्राप्त गर्दा बढी फल्छ ।’

    उनले पनि ४ कठ्ठामा परबल खेती गरेको बताए । हप्तामा २० देखि २४ मनसम्म परबल बिक्री गर्दै आएको उनको भनाई छ । ‘परबल बिक्रीका लागि बजारको पनि आफूहरुलाई अभाव छैन,’ उनले भने, ‘देवानगञ्ज गाउँपालिकाभरि भइरहेको परबल खरिद गर्नका लागि ब्यापारीहरु काठमाडौं, जनकपुर, सर्लाही, सिरहा, लहान, राजबिराज, विराटनगर, भारतको फारबिसगञ्जबाट खेतमा नै आउने गरेको छ ।’

    ब्यापारीहरु गाडी लिएर नै खेतमा पुग्ने गरेको उनी सुनाउँछन् । व्यपारीले खरिद गर्न नसकेको परबल प्रत्येक दिन लाग्ने देवानगञ्ज बजारमा लगेर बिक्री गर्दै आएको महतोले बताए । 

    महतोलाई कुशवाहा/कोइरी जाति पनि भन्छ र कोइरी जातीको पुख्र्यौली पेसा तरकारी खेती हो । स्थानीय किसान देवलाल महतोले तरकारी खेती आफूहरुको पुख्र्यौली पेसा भएकोले परम्परागत तरिकाले नै अहिलेसम्म खेती गर्दै आएको बताए । ‘परबल खेती गर्न १ कठ्ठाका लागि १ जनालाई पूरा समय काममा लाग्नु पर्ने भएकोले मजदुर बढी आवश्यक हुन्छ,’ उनले भने, ‘वैदेशिक रोजगारीले मजदुर अभाव भएपछि परबल खेती गर्न समस्या भइरहेको छ ।

    मजदुर घटाउन प्रविधिको प्रयोग बढाउँदै लग्नु पर्ने हो तर आफूहरुलाई प्रविधिको बारेमा ज्ञान छैन ।’ महतोले परबल खेतीका विभिन्न परजाति हुने गरेको तर अलिकति हरियो सेता रंगको परबलको बजारमा बढी माग रहेको बताए ।

    परबल खेतीका लागि कृषि मल र सिँचाईंको अभाव प्रमुख समस्या भएको गुनासो पोखे । उनले परबल खेतीको लागि आवश्यक कृषि यन्त्र, मल र सिँचाईको व्यवस्थासँगै वैज्ञानिक तरिकाले व्यवसायिक तरकारी खेतीका लागि तालिमको व्यवस्था गरिदिन स्थानीय तह र प्रदेश सरकारसँग माग गरे । 

    देवानगञ्ज गाउँपालिकाका कृषि संयोजक रमेशकुमार यादवले महतो जातिको बाहुल्यता रहेकोले सबैले तरकारी खेती गर्दै आएको बताउनुभयो । तरकारी खेतीका लागि गाउँपाकिलाले किसानहरुलाई प्रोत्साहित हुने गरी योजना र बजेट ल्याएको उहाँले बताउनुभयो । गाउँपालिका भरिमा करीब २ सय विघामा परबल खेती हुने गरेको उहाँले जानकारी दिनुभयो ।  

    देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले जिल्लाका अधिकांश किसानले न्यूनतम २/४ कठ्ठादेखि २/४ विघासम्म परबल खेती गर्दै आएको बताउनुभयो । ‘परबल लगायतको तरकारी खेतीका लागि कृषि यन्त्र, सिँचाई र कृषि मलको समयमा व्यवस्था गर्न योजनाबद्ध तरिकाले काम सुरु गरेका छौं,’ उहाँले भन्नुभयो, ‘प्रराङगारिक मल उत्पादनका लागि बजेट विनियोजन गरेको त्यसको काम भइरहेकोले अब किसानलाई कृषि मलको अभाव हुँदैन ।’

    उहाँले कृषिमा यस वर्ष ७१ करोड १६ लाख बजेट बिनियोजन गरेर किसान लक्षित योजना छनौट गरेर काम भइरहेको बताउनुभयो ।

    ‘आउँदो आर्थिक वर्षमा किसानको समस्यालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छौं,’ उहाँले भन्नुभयो, ‘भारतीय सीमासँग जोडिएको यस गाउँपालिकाको प्रमुख आय स्रोत भनेको कृषि नै भएकोले मुलुकमा नै कृषिमा नमूना गाविस बनाउने लक्ष्यका साथ काम अगाडि बढाएका छौं ।’

    प्रकाशित:जेष्ठ १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्