एचआईभी संक्रमितमाथि चिकित्सकबाटै भेदभावपूर्ण व्यवहार

- कमला गुरुङ, काठमाडौं
  • चिकित्सकले उपचार गर्न नमान्दा संक्रमित अस्पताल धाउन बाध्य
मुलुकभर ३० हजार ६ सय ४६ जना एचआईभी संक्रमित रहेको अनुमान गरिएपनि हालसम्म करीब २२ हजार संक्रमित रहेको सरकारी तथ्याङ्क छ ।

जेष्ठ १३, २०७५

खुट्टामा समस्या देखिएपछि माया (नाम परिवर्तन) राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगिन् । सुरुमा चिकित्सकले भर्ना गरेर खुट्टाको एमआरआई गर्नुपर्छ भने । तर पछि एचआईभी संक्रमित भएको उनले बताएपछि चिकित्सक उपचार गर्नबाट हच्किए । चिकित्सकले नहेपछि उनले मेडिकलबाटै औषधि किनीन् । 

नेपालमा एचआईभी संक्रमण बारे पत्ता लागेको तीन दशक भइसक्यो । तर एचआईभी संक्रमित माथि हुने भेद्भाव तथा लाञ्छना अहिलेसम्म हट्न सकेको छैन । सिन्धुलीकी मायाको कटु अनुभवले पनि यसै भन्छ । ‘जहाँ पायो त्यही हामीले उपचार पाउने अवस्था नै छैन’, उनले भनिन् ।  

उनले ११ वर्ष देखि एन्टी रेक्ट्रो भाइरल थेरापी एआरटी सेवा लिइरहेकी छिन् । तर पनि चिकित्सकबाटै भेदभावपूर्ण व्यवहारको सामना गर्नुपरेको उनको तितो अनुभव छ । ‘अन्य बिरामीलाई गर्ने र हामीलाई गर्ने व्यवहार धेरै भेद्भावपूर्ण छ’, उनले भनिन्, ‘मेरो एपेन्डी साइडकै अप्रेशन पनि एक वर्षपछि मात्र भयो । मान्छे तत्काल मर्छ भन्छन, तर मर्न यति सजिलै रहेनछ ।’  

उनी मात्र हैन पोखराकी निर्मलालाई (नाम परिवर्तन) पनि विगत केही वर्षबाट यो समस्याले पिरोलेका छ । पाँच वर्षदेखि आँखामा देखिएको समस्या हल गर्न चिकित्सकले अप्रेशन गर्न सल्लाह दिए । उनी त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल पुगिन् । तर, एचआइभी संक्रमित भएको थाहा पाएपछि चिकित्सकले भेदभाव गर्दा हालसम्म उनको उपचार हुन सकेको छैन । 

भन्छिन, ‘आँखाको अप्रेशन गर्नुपर्छ भन्यो । डाक्टरले रगत जाँच गरे । मैले म एचआईभी संक्रमित हुँ नभने पनि रगत जाँचबाट थाहा भयो । त्यसपछि उनीहरुले तपाईको यहाँ उपचार हुँदैन अन्तै जानु भने ।’ उपचार गरिदिन आग्रह गरेपनि चिकित्सकले उपचार गर्न नमानेको उनको गुनासो छ । ‘मैले पहिलेबाटै यही उपचार गर्दै आएको छु । अब अरुमा किन जाने भन्दा पनि डाक्टरले हुँदैन, यस्तो मान्छेलाई हामीले अपरेशन गर्दैन भन्नुभयो, उनले भनिन् ।’

तीन वर्ष अघि एड्सका कारण उनको श्रीमानको निधन भयो । ‘यो रोग लागेपछि मान्छेले किन यसरी किन घृणा गर्छ ? उनले प्रश्न गर्दै भनिन, ‘तीन/चार पटक अस्पताल गए । तर कुनै डाक्टरले पनि अप्रेशन गर्नै मान्दैन ।’ 

मुलुकभर ३० हजार ६ सय ४६ जना एचआईभी संक्रमित रहेको अनुमान गरिएपनि हालसम्म करीब २२ हजार संक्रमित रहेको सरकारी तथ्याङ्क छ । जसमध्ये करीब १५ हजार उपचाररत छन् । नेपालमा करीब ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट सर्ने गरेको पाइएको छ । नयाँ संक्रमित आउने क्रम घटेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ ।

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसियन फिजिसियन डा. अनुप बास्तोला एचआइभी सम्बन्धी भ्रम हट्न नसक्दा स्वयम् चिकित्सकले नै विभेद गरेको बताउनुभयो । 

‘मैले यस्तो धेरै बिरामी भेटेको छु । जसले सानादेखि ठूला अप्रेशनका लागि पठाउँदा फिर्ता आउनु भएको छ, डा. अनुपले भन्नुभयो, ‘यतिसम्म की दाँत निकाल्न पठाएको बिरामी एचआईभी भएको थाहा पाएपछि टेबलबाटै उठाएर पठाएको घटना पनि छ । अप्रेशन गर्न ढिलासुस्ती गरिदिने । एचआईभी सम्बन्धी जुन डर अनि भ्रम छ । त्यो अहिले पनि हट्न सकेको छैन ।’ 

औषधि लिरहेका संक्रमितबाट चिकित्सकलाई एचआइभी सर्ने जोखिम अन्त्यन्त न्यून रहने डा. बास्तोलाले बताउनुभयो । कुनै पनि सर्जिकल प्रक्रिया गर्दा या एचआइभी संक्रमितलाई अस्पताल भर्ना गर्दा डराउनुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । 

डा. बास्तोला भन्नुहुन्छ, ‘एचआइभी स्टाटस थाहा भइसकेपछि जति चिकित्सक सुरक्षित हुन सक्छन्, त्यो थाहा नभएको व्यक्तिमा त्यति नै खतरा हुन्छ । साथै अहिले यस्तो धेरै औषधि तथा प्रविधि आइसकेको छ, जसको माध्यमबाट हामी सुरक्षित हुन सक्छौ ।’ 

एचआइभी सम्बन्धी समाजमा व्याप्त गलत धारणामा केही सकारात्मक परिवर्तन नआएको पनि होइन । तर एचआइभी संक्रमितलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा उनीहरु पारिवारिक तथा सामाजिक रुपमा अपहेलित हुनु परेको छ । यस्तोमा भेदभावपूर्ण व्यवहार नगरी समान व्यवहार गर्नु आवश्यक मात्र नभइ यो चिकित्सकको पेशागत दायित्व पनि हो । यो दायित्वबाट च्युत नभइ कार्यस्थलमा खटिने वातावरण सरकारले मात्रै नभइ चिकित्सक स्वयंले तयार पार्नु उचित हुन्छ । 

प्रकाशित:जेष्ठ १३, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्