काम नगर्ने दुई ठेकेदार पक्राउ

नेपालगञ्ज
  • बाँकेका दुई दर्जन ठेकेदार कारवाहीको सूचीमा

जेष्ठ १३, २०७५

तोकिएको समयै काम सम्पन्न नगर्ने ठेकेदारलाई बाँके प्रशासनले पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रशासनले उनीहरुलाई पक्राउ गर्न थालेको हो । त्यस्तै विकास निर्माणको काममा लापरवाही गर्ने ठेकेदारहरुको सूची प्रशासनले तयार गरेको छ । थप अनुसन्धानपछि उनीहरुलाई पनि प्रक्राउ गर्न सकिने जनाइएको छ । 

ठेक्का कबु्ल गर्ने तर निर्माणको काममा लापरवाही गर्ने ठेकेदारको नाम गृहले मागेको हो । प्रशासनको निर्देशनपछि भैरब अरबिन्द जेभी नेपालगञ्जका भरत शाह र नेपालगञ्जकै अर्का ठेकेदार रामाश्रै यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

शाहले राप्ती सोनारी गाउँपालिका सैयापुरमा सडक निर्माण र खजुरा गाउँपालिकास्थित किरण नालामा पूल निर्माणका लागि ठेकका कबुल गरेका थिए । तर ठेक्काको समयावधि सकिएपछि पनि काम पूरा नगरेको भन्दै उनलाई पक्राउ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

त्यस्तै यादवले नेपालगन्ज उपमहानगरपालिकाको उदयपुरमा कालोपत्रेको काम कबुल गरेका थिए । गत वर्ष नै सक्नु पर्ने काम चालु आर्थिक वर्षमा पनि सम्पन्न नभएको भन्दै प्रकाउ गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले गृह मन्त्रालयको निर्देशनपछि काममा लपारवाही गर्ने ठेकेदारलाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार पक्राउ गरिएका दुई जना ठेकेदारहरु विरुद्व मुद्दा चलाउन आईतबार म्याद थप गराइएको छ । 

प्रकाशित:जेष्ठ १३, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्