सुन तस्करी प्रकरण : गोरे पूर्पक्षका लागि थुनामा

काठमाडौं

    जेष्ठ १३, २०७५

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ अदालतले  आदेश दिएको छ । जिल्ला अदालत मोरङमा आज भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले थप अनुसन्धानका लागी गोरेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

    अदालतको आदेश लगतै प्रहरीले गोरेलाई जिल्ला कारागारमा चलान गरेको हो । गोरेको आजै दिउँसो बयान सकिएको थियो । तत्काल देखिएका प्रमाणका आधारमा अभियुक्तलाई थुनामै राखेर थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलका तर्फबाट जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले माग गर्नुभएको थियो ।

    तर अभियुक्तका तर्फबाट प्रत्युत्तर बहसमा उत्रिएका कानुन व्यवसायी यामबहादुर मगरले भने प्रहरीको अनुसन्धान अपूरो रहेको बताउनुभएको थियो । उहाँले हराएको भनिएको साढे ३३ किलो सुन नभेटिएको र कर्तब्य ज्यान मुद्दामा गोरे संलग्न नरहेको बताउनुभयो । यसअघि बयानका क्रममा गोरेले सनमलाई यातना दिएको भिडियो, पक्राउ परेका व्यक्तिको बारेमा थप जानकारी लिइएको थियो । उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् ।

    गोरेविरुद्ध गत बैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो । गोरे समूहले पाँच बर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ हजार किलोग्राम सुन तस्करी गरेको अभियोग लागेको छ । गोरे गत जेठ ९ गते राजधानीको गौरीघाटबाट पक्राउ परेका थिए । 

    प्रकाशित:जेष्ठ १३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्