अमेरिका र उत्तर कोरियाबीच ४ बुँदे सम्झौता

सीएनएन/बीबीसी
  • दुई मुलुकका नेताबीच ऐतिहासिक भेटवार्ता

जेष्ठ २९, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले ऐतिहासिक भेटवार्ताका क्रममा ४ बुँदे बृहत्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । दुई मुलुकको सम्बन्धलाई नयाँ दिशा दिन भन्दै ट्रम्प र किमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । दुई नेताबीच अमेरिका र उत्तर कोरियाली जनताहरुको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धिका लागि नयाँ आपसी सम्बन्ध बिस्तार गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

यस्तै, अमेरिका र उत्तर कोरियाले कोरियाली प्रायद्विपमा दिगो शान्ति स्थापनाका लागि संयुक्त प्रयास गर्ने सहमति भएको सीएनएनले जनाएको छ । गत अप्रिल २७ मा जारी भएको पानमुनजोम घोषणापत्र अनुसार उत्तर कोरिया कोरियाली प्रायद्विपको पूर्ण आणविक निस्शस्त्रीकरणको प्रकृयामा अगाडि बढ्ने सम्झौता पत्रमा जनाइएको छ ।  

यस्तै, अमेरिका र उत्तर कोरियाले युद्धका बेला बनाइएका बन्दीहरुलाई दुवै देशले क्रमश: रिहा गर्ने र पहिचान भइसकेका बन्दीहरुलाई भने तुरुन्तै रिहा गरिने सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग विशेष सम्बन्ध बनेको बताउनुभयो ।

दुई देशका नेताबीच एक्ला एक्लै बैठकपछि सामुहिक वार्ता भएको हो । सिंगापुरको सेन्तोसा टापुस्थित पाँच तारे होटलमा भएको वार्ताले ईतिहासका पूर्वाग्रह अन्त्य गरेको नेता किम जोङ उनले बताउनुभयो । उहाँले विश्वले अब विशेष परिवर्तन देख्ने बताउनुभयो । 

लामो समय वाकयुद्धमा उत्रिएका ट्रम्प र किमबीच हात मिलाएको दृश्यसँगै सुरु भएको ऐतिहासिक वार्ताप्रति अन्तर्राष्ट्रिय चासो खिचिएको छ । वार्ता सकारात्मक रहेको दक्षिण कोरियाली समाचार संस्था योनहापले उल्लेख गरेको छ । भेट प्रति दक्षिण कोरियाली राष्ट्रपति मुन जेय ईनले खुसी व्यक्त गर्नुभएको छ । आणविक निशस्त्रीकरणको प्रक्रिया लामो रहेपनि वार्ताले विश्वासको वातावरण श्रृजना गरेको उहाँले उल्लेख गर्नुभएको छ । 

दुई नेताले भेटवार्तापछि सँगै लन्च गरेका थिए । केही समय अघिसम्म पनि वाकयुद्ध गरिरहेका र .तनावपूर्ण सम्बन्ध रहेको दुवै मुलुकले उल्लेखनीय बदलाव ल्याएका हुन् । विश्वले किम र ट्रम्पको भेटको स्वागत गरेपनि यो ऐतिहासिक भेटवार्ता आलोचनामुक्त भने भएन ।

भेटवार्तामा कोरियालीको मानव अधिकारको बारेमा कुरा नगरिएको भन्दै अधिकारकर्मीहरुले आलोचना गरेका छन् । दक्षिण कोरियामा रहेर उत्तर कोरियाली शरणार्थीको अधिकारका लाड्दै आएका किम योङ्ग–ह्वाले मानव अधिकारबारे मौन रहेर राष्ट्रपति ट्रम्पले किमको अधिनायकवादलाई स्वीकार गरेको आरोप लगाए । 

प्रकाशित:जेष्ठ २९, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्