बीपी राजमार्गबाट ढुवानी बन्द भएपछि व्यवसायी आन्दोलित

- टीकाप्रसाद भट्ट, रामेछाप

    जेष्ठ २९, २०७५

    बीपी राजमार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाएपछि रामेछापका व्यवसायीहरु आन्दोलित भएका छन् । बीपी राजमार्गमा १० टन भन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि जिल्लामा ढुवानी र आवागमन ठप्प भएको भन्दै व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । 

    उद्योग वाणिज्य संघ रामेछापको अगुवाइमा जिल्लाका सबै व्यवसायीले टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् । व्यवसायीहरुले समस्या सुल्झाउनका लागि दवाव दिन साता व्यापी विरोधका कार्यक्रम तय गरेका छन् । विरोधका कार्यक्रम अन्र्तगत आगामी ३० गते २ घण्टा व्यवसाय बन्द गर्ने, ३१ गते मोटरसाइकलमा माल सामान राखेर ढुवानी गर्ने,  असार १ गते ढाकर (थुन्से) मा सामान बोकेर बजार परिक्रमा गर्ने र असार २ गते सिट्ठी जुलुस गर्ने भएका छन् । 

    विभिन्न माग राखिएका प्ले कार्ड सहित विरोध र्‍यालिमा निस्कीएका व्यवसायीहरुले सर्वोच्चको आदेश पुनारावलोकनको माग गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले जेठ २१ गते बीपी राजमार्गमा ठूला सवारीका साधन सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि तराई हुँदै रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीकै महाभारत उत्तर तर्फको क्षेत्रमा ढुवानी र आवागमन प्राय ठप्प छ ।

    तराईबाट पहाड जोडिने अर्को वैकल्पिक मार्ग छैन । लानाको चामल, नारायणघाट, काठमाण्डौ, बनेपा, चरिकोट हुँदै रामेछाप सम्म ढुवानी गर्नुपर्ने विषय समय, इन्धन, प्रतिस्पर्धा र सुलभताका हिसाबले उचित नहुने व्ययवसायीहरुले दाबी गरेका छन् । बीपीको बदला उक्त मार्ग प्रयोग गर्दा सामान ढुवानीमा चौबर भाडा र समय लाग्ने उनीहरुको जिकिर छ ।

    बीपी राजमार्गमा सञ्चालन हुँदै आएका ३२ सिट क्षमताका बस सञ्चालनमा प्रतिबन्ध लगाइएपछि पहाडबाट तराइ झर्ने एक मात्र राजमार्गमा यात्रुहरु समेत अलपत्र छन् । केही यात्रुले तराईबाट टेम्पो रिजर्भ गरेर यात्रा गरिरहेका छन् । सुमो र हाइस उक्त सडकमा ठूलो मात्रामा सञ्चालन हुुँदै आएपछि सोझै काठमाण्डौ र तराईका यात्रुका लागि मात्र लक्षित छन् । सडकमा अटाइ नअटाइ साना सवारी साधन गुडेका छन् तर आन्तरिक यात्रुले भने साधन पाएका छैनन् । 

    विगतमा ८ टन सामान बोकेर गुड्ने ६ चक्के ट्रक रोकिंदा निर्माण सामाग्रीको ओसार पसार ठप्प छ । रामेछाप र दोलखा देखि ट्याक्टरहरु सामान लिन सिन्धुली झर्न थालेका छन् । राजमार्गमा ट्याक्टरको यात्रा अझ बढी जोखिममा रहेको व्यवसायी पवन सापकोटा बताउँछन । ट्याक्टरमा रड हालेर ढुवानी हुन थालेपछि बीपी राजमार्गमा दुर्घटनाको भय बढेको उनले बताए ।

    जिल्लामा इन्धन बोकेका सवारी साधन आउन दिइएको छैन । जनकपुरको महेन्द्रनगर र बाराको अमलेखजञ्गबाट रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीको उत्तरी क्षेत्रमा आउने इन्धन बोकेका ट्याङकर रोकिँदा जिल्लामा इन्धनको हाहाकार छ ।

    तेल, चामल, मैदा, चिनी जस्ता सामाग्रीको अभाव श्रृजना भएको छ । स्थानीय प्रशासनले ढुवानी समस्याको समाधानको लागि वैकल्पिक उपायको खोजी गरेको छैन । तराइर्बाट पहाड जोड्ने एक मात्र बीपी राजमार्गमा ठूला सवारीलाई प्रतिबन्ध लगाउंदा जिल्लामा पुनर्निर्माणको कार्य ठप्प छ । सिमेन्ट, छड र ईटा ढुवानी रोकिंदा जिल्लामा निर्माणाधिन सरकारी कार्यालयका भवनहरुको काम स्थगित भएको छ । 

    यसैबीच प्रदेश सभामा सांसदहरुले राजमार्गमा यात्रुहरुलाई सहज यात्रा गर्न र ढुवानीका साधन सञ्चालन हुँदै आएकोमा सर्वोच्चबाट भएको अन्तरिम आदेशले अस्तव्यस्तता श्रृजना भएको जनाएका छन् । सिन्धुली, रामेछाप, दोलखा र काभ्रे जिल्लाका सांसदहरुले संयुक्त दस्तखत गरी सर्वोच्च अदालतलाई विषयको गम्भीयर्तालाइ बुझी निर्णय गर्न माग समेत गरेका छन् । अदालतले आउँदो असारको पहिलो साता त्यस सम्बन्धी मुद्दा हेर्ने जनाइएको छ । 

    प्रकाशित:जेष्ठ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्