प्रधानमन्त्री ओलीले असार ५ गतेबाट चीन भ्रमण गर्ने

काठमाडौं

    जेष्ठ ३०, २०७५

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार ५ गतेबाट चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री ओलीको भ्रमण मिति सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्न लाग्नु भएको हो ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग द्विपक्षीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । यस्तै भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका वरिष्ठ नेताहरुसँग समेत भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नुहुने पनि परराष्ट्रले जनाएको छ  । 

    भ्रमणको शिलसिलामा केही दुई पक्षीय हितका विषयमा सहमति र समझदारी पत्रमा हस्ताक्षर हुने भनिए पनि परराष्ट्रले भ्रणका एजेन्डा बारे भने केही खुलाएको छैन । चीनको ६ दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण र प्रान्तीय नेताहरुसँगको भेटवार्ता समेत गर्ने तालिका रहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ ।

    प्रधानमन्त्री ओलीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, नीजि क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्