बाजेको सेकुवामा छानविन समितिको छापा

- प्रिन्स गौतम, काठमाडौं

    जेष्ठ ३०, २०७५

    चार हजार किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त चेतनाथ भण्डारीले काठमाडौंमा सञ्चालन गरेको रेष्टुरेन्ट बाजेको सेकुवा कर्नरमा प्रहरीले आज छापा मारेको छ । सरकारले गठन गरेको छानविन समितिको नेतृत्वमा पुगेको प्रहरी टोलीले राजधानीका विभिन्न स्थानमा भण्डारीले सञ्चालन गरेका ६ वटा रेष्टुरेन्टमा छापा मारेर शिलबन्दी गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

    भण्डारीको ५, उनका सालोको १ सहित विभिन्न ब्यक्तिले बाजेको सेकुवाको नाममा १० वटा रेष्टुरेन्ट सञ्चालनमा छन् । जिल्ला अदालत मोरङको अनुमतिमा भण्डारीले सञ्चालन गरेको रेष्टुरेन्टमा छापा मारेर शिलबन्दी गरिएको समितिका संयोजक इश्वराज पौडेलले जानकारी दिनुभयो । रेष्टुरेन्टका सञ्चालक भण्डारीले सुन तस्करीका मुख्य आरोपीत गोरे भनिने चुडामणी उप्रेतिसँग मिलेर तस्करीको सुनमा लगानी गरेको अनुसन्धान समितिको दाबी छ ।

    छानविन समितिले अनुसन्धान सुरु गरेलगतै फरार रहेका भण्डारीको बैंक खाता यसअघिनै रोक्का भइसकेको पौडेलले जानकारी दिनुभयो । उनीमाथि सम्पति शुद्धिकरण मुद्दामा पनि थप अनुसन्धान हुने समिति स्रोतले जनाएको छ ।

    विशेष अनुसन्धान समितिले गत सोमबार सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राजेन्द्रकुमार शाक्यको आर.के ज्वेलर्समा छापा मारेर शिलबन्दी गरेको थियो । तस्करीको सुनका मुख्य लगानीकर्ता मानिएका एमके भनिने मोहनकुमार अग्रवाल अझै फरार छन् ।

    आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध पैठारी निकासी, अपहर तथा शरिर बन्धक, यातना र कर्तब्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङले गत बैशाख १९ गते मोरङ अदालतमा ६३ जनाविरुद्द मुद्दा दायर गरेको थियो । प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न सकरारले गठन गरेको विशेष छानविन समितिको म्याद भने भोली मध्यरातीबाट सकिदैछ ।

     

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्