ढल्कियो, ढल्कियो जौवन ...

- देवनारायण साह, मोरङ

    जेष्ठ ३०, २०७५

    चौतर्फी एकसाथ भइरहेको विकास निर्माणको कामले धूलाम्मे र अस्तव्यस्त विराटनगरको मूल सडकमा मालबाहक लगायतका सवारी साधनको चाप उतिकै हुन्छ । विराटनगरबासी आवश्यक काम परेको बेला मात्रै सडकमा निस्किन्छन् तर मंगलबार साँझको गर्मी, धूवाँ, धूलो र व्यस्त सडकको सवारी साधनको परबाहै नगरी भाटभटेनी छेउमा गायिका माण्डवी त्रिपाठीसँगै स्वरमा स्वर मिलाएर विराटनगरबासी झुमिएका थिए । 

    बिर्तामोडबाट सुरु भएको रेडियो कान्तिपुरको ‘रेडियो अन ह्वील्स’ दोस्रो सिजनको सांगीतिक यात्रामा विराटनगर आइपुगेकी माण्डवीले ‘ढल्कियो, ढल्कियो जौवन मेरो, तिमी तिर...’ गीतबाट गाउन सुरु गरेकी थिइन् । माण्डवीले एक दर्जन गीत गाइसक्दा पनि वान्स मोरको अफर आइनै रहयो । 

    उनी पछि गायक कमल खत्रीको सुरिलो आवाजले दर्शक श्रोताले बालबालिकादेखि बृद्धसम्मलाई पसिनाले निथ्रुक्कै भिज्ने गरी नचाएका थिए । 

    ‘जान्या, छु बुझ्या छु’ थेगोबाट लोकप्रिय बनेका हाँस्यकलाकार विनोद परियार र आशिष ठकुरीले हास्यव्यंग्य प्रस्तुत गर्दा दर्शक श्रोताले उस्तै मनोरञ्जन लिए । कार्यक्रम प्रस्तोता समेत रहेका आशिषले विभिन्न कलाकारको क्यारिकेचर समेत गरेका थिए ।

    रेडियो कान्तिपुरका चर्चित प्रस्तोता एलिसा बज्राचार्यले विभिन्न खेल खेलाउँदै दर्शक श्रोतालाई मनारेञ्जन प्रदान गरेका थिए । बज्राचार्य र आशिषले संयुक्त रुपमा दर्शक श्रोतालाई रमाइलो प्रश्नको उत्तर दिन लगाएर पुरस्कारको भारी बोकाएका थिए । 

    रमाइलो खेल खेल्ने, अगाडि आएर प्रश्नको जवाफ दिने, नाच्ने र स्टेजमा गएर गीत गाउनेलाई दर्शकलाई रेडियो कान्तिपुरको लोगो अंकित टिसर्ट सहितको पुरस्कार दिइएको थियो ।

    रेडियो कान्तिपुरका प्रस्तोता बज्राचार्यले श्रोताहरू माझ सधैं रहिरहने उद्देश्यले रोड सो लिएर देश दौडाहामा निस्किएको बताए । बिर्तामोडबाट सुरु भएको शो दमक, धरान, इटहरीमा सम्पन्न भइसकेको छ भने आज विरगञ्जमा रोड शो हुने उनले बताइन् । 

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्