कृषि आयमा कर लगाउने प्रस्तावको विरोध

- नगेन्द्र अधिकारी, हेटौंडा

    जेष्ठ ३०, २०७५

    कृषि आय कर लगाउने व्यवस्था सहितको ‘कर तथा गैरकर राजस्व  लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को प्रदेश सभा बैठकमा विरोध भएको छ । बुधबार प्रदेश सभा बैठकमा प्रस्तुत विधेयकको सैद्धान्तिक छलफलमा सहभागी प्रदेश सभा सदस्यले कृषि आयमा कर लगाउन ‘न्यायोचित नहुने’ धारणा राख्नुभएको हो ।

    कांग्रेस सांसद प्रभात तामाङ्गले उक्त व्यवस्थाले मूल्यबृद्धि आकासिने र गरिब किसानको लागि न्यायोचित नहुने धारणा राख्नुभयो । सांसद सिता अधिकारीले कृषि आयमा कर लगाउन नहुने भन्दै बरु कृषि औजार र उपकरणमा कर छुट हुुनुपर्ने धारणा राख्नुभयो । 

    संसदमा प्रस्तुत विधेयकमा धान, गहुँ, कोदो, फापर, मकै, फलफुल, तरकारी, आलु, मासुजन्य पदार्थ, माछा, दूध, तेलहन जस्ता अन्य खाद्य वस्तुको उत्पादनको बिक्रीबाट हुने आयमा कर लाग्ने उल्लेख छ । स्वंयम घोषणा गरी आफ्नो कृषि आय प्रस्तुत गर्ने कृषकहरुको लागि कृषि आयमा तोकिए बमोजिमको कर लगाइने र असूल उपर गरिने विधेयकमा छ ।

    प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुने कर सरकारले तोकेको  कार्यालयले संकलन गर्ने उल्लेख छ । यसैबीच, आफैले प्रस्तुत गरेको विधेयकको व्यवस्था माथि अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले अनविज्ञता प्रकट गर्नुभएको छ ।

    ‘कर तथा गैरकर राजस्व  लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले कृषि आयमा कर को बिषय अझै अन्यौल रहेको बताउँदै लागू गराउने बेलासम्म यसको टुंगो लगाउनले दाबी गर्नुभयो । 

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्