धादिङमा विद्यार्थी र प्रहरीबीच झडप

- हरिहरसिंह राठौर, धादिङ

    जेष्ठ ३१, २०७५

     इन्धनको मूल्य बृद्धि गरेको भन्दै सरकारको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबीच धादिङबेंसी बजारमा झडप भएको छ । नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समितिले प्रधानमन्त्री केपी ओलीको पपुत्ला सहित कालो झण्डा लिएर नीलकण्ठ क्याम्पसबाट जुलुस निकालेको थियो । बीचबजारमा कडा सुरक्षाका कारण विद्यार्थीहरुले पुत्ला दहन गर्नु अगावै प्रहरीले पुत्ला खोसेको थिए ।

    पुत्ला खोस्न साथ प्रहरी निरीक्षक जनक गिरीले नेविसंघका जिल्ला अध्यक्ष ईस्वर अधिकारीलाई पक्राउ गर्न खोजे पछि प्रहरी र विद्यार्थीबीच झडप भएको हो । प्रहरीले अध्यक्ष अधिकारीलाई गिरफतार गर्न खोज्दा प्रहरीलाई नै घेराउ गरेका विद्यार्थी समूहले प्रहरीबाट विद्यार्थी नेतालाई खोस्न सफल भएका थिए ।

    विद्यार्थीले प्रहरी प्रशासन र सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए । विद्यार्थी प्रहरी थप झडप रोक्न र क्षति हुन नदिन नेपाली कांग्रेसका जिल्ला नेता रामनाथ अधिकारी लगायत जिल्ला नेताहरुले समेत हस्तक्षेप गरेका थिए ।

    बीचबजारमा करीब आधाघण्टा सम्म तनाव भए पछि जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर विक सहितको टोली आए पछि विद्यार्थी फर्केका थिए । 

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्