प्रदेश ७ : लगानी आकर्षण गर्न उद्योगलाई कर छुट

- अर्जुन शाह, धनगढी

    जेष्ठ ३१, २०७५

    प्रदेश ७ लाई लगानीको आकर्षक क्षेत्र बनाउन प्रदेश सरकारले उद्योग स्थापनामा कर छुट दिने योजना ल्याउने भएको छ । प्रदेश ७ सरकारले शुक्रबार प्रस्तुत गर्न लागेको आर्थिक वर्ष ०७५/०७६ को बजेटबारे जानकारी गराउँदै आर्थिक मामिला तथा योजना मन्त्रालयले अवस्था हेरेर अन्य उद्योगमा समेत छुट दिइने योजना रहेको जनाएको छ ।

    करीब २५ अर्ब हाराहारीको बजेट ल्याउने तयारीमा रहेको प्रदेश सात सरकारका आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले बताउनुभयो । बजेटमा भौतिक पूर्वाधार विकास, कृषिमा स्वनिर्भरता, गरिबी न्यूनिकरण, स्वरोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट केन्द्रित रहने मन्त्री बोहराले जानकारी दिनुभयो । 

    ‘प्रदेशको विकासमा टेवा पुग्ने उद्योग स्थापनामा बाह्रय लगानी आकर्षण गर्न प्रदेश सरकारले लगाउने करमा पुरै छुट दिने ब्यवस्था गर्दैछौ’ आर्थिक मामिला मन्त्री बोहराले भन्नुभयो, ‘संघीय सरकारले लिने करमा समेत समन्वय गरी आंशिक वा पुरै छुटको पहल गर्छौ ।’

    उहाँले यसअघि स्थापित उद्योगमा समेत उद्योगको अवस्था हेरी करबारे पुनर्विचार गरिने जानकारी दिनुभयो । कृषि क्षेत्रको विकास प्रदेश बजेटको उच्च प्राथमिकतामा राखिएको मन्त्री बोहराले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘३ देखि ५ वर्षभित्र कृषिमा आत्मनिर्भर हुनेगरी कृषि क्षेत्रलाई आधार वर्षका रुपमा बजेट विनियोजन गरिएको छ ।’

    बजेट महत्वकांक्षी नहुने जानकारी दिंदै उहाँले जनचाहनालाई सम्बोधन गर्ने गरी कार्यान्वयन गर्न सकिने बजेट ल्याउन लागिएको बताउनुभयो ।

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्