विद्यार्थीहरु बेहोस, मास हिस्टेरिया : मनोचिकित्सक

- प्रदीप मेन्याङ्बो, सुनसरी

    जेष्ठ ३१, २०७५

    मोरङको केराबारी– ९ स्थित लक्ष्मी माध्यमिक विद्यालयका छात्र छात्राहरुमा मास हिस्टेरिया देखा परेको छ । यस्तो अवस्थामा अनावश्यक रुपमा डराउने, रुने, चिच्याउने, बेहोस हुने जस्ता अस्वभाविक लक्षण देखिन्छन् । मनोचिकित्सकका अनुसार यो एक प्रकारको अनौठो मानसिक समस्या हो । उक्त बिराम केही दिनमा आफै ठीक हुन्छ ।

    विद्यार्थीहरुमा सामूहिक रुपमा मास हिस्टेरिया देखा परेपछि विद्यालय २ दिन सम्मका लागि बन्द गरिएको सहायक प्रधानध्यापक स्थिर प्रसाद चापागाईले बताउनुभयो । उहाँका अनुसार एक सातादेखि छात्र छात्राहरु एक्कासी लड्ने बेहोस हुने गरेपछि शिक्षक तथा स्थानीय अभिभावकहरु पनि चिन्तित र तनावग्रस्त भएका छन् ।

    कक्षा ७ पढ्ने एक छात्रा एक साता अघि विद्यालयमा एक्कासी चिच्याउने, बेहोस हुने, अनौठो लक्षण देखाएपछि अरु छात्र छात्राले पनि तिनलाई देखेका थिए । विद्यालयमा बेहोस हुने र अनौठो लक्षण देखाउने छात्रालाई देख्ने मध्ये सात जनालाई पनि त्यस्तै हुन थालेपछि अभिभावकहरु चिन्तित भएको सहायक प्रधानध्यापक चापागाईले बताउनुभयो । 

    उहाँले भन्नुभयो,। ‘एकपछि  अर्को गर्दै विद्यार्थीहरुमा अनौठो रोग देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा सम्पर्क गरियो । तर त्यहाँबाट पनि उचित समाधानको उपाय पाइएन । हामी सवै अनभिज्ञ भएकाले सवै आत्तियौं ।’ 

    उहाँले घर पुर्‍याएका कतिपय छात्राहरुमा उक्त समस्या घरमा पनि देखा परेको बताउनुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख प्रा डा. निदेश सापकोटाले मास हिस्टेरिया हुँदा नआत्तिन सुझाव दिनुभएको छ ।

    यो रोग लाग्दा बिरामीलाई बढी वास्ता गर्दा झन बढ्ने भएकाले बेवास्ता गरे आफै ठीक हुने बताउनुभयो । उहाँका अनुसार मास हिस्टेरिया मन भित्र हुन अनेक तनावले शारीरिक लक्षण लिने भएकाले कन्भर्सन डिस्अर्डर भनिन्छ ।

    यस प्रकारको घटना केराबारी स्थित मच्छिन्द्र माध्यमिक विद्यालयमा गत साल पनि देखा परेको थियो । सामान्य अवस्थामा फर्कन छात्र छात्राहरुलाई करीब दुई सातामा सम्म लागेको थियो । 

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्