प्रदेश ४ मा २४ अर्ब २ करोडको बजेट प्रस्तुत

- लालप्रसाद शर्मा, पोखरा

    असार १, २०७५

    प्रदेश ४ सरकारले आगामी आर्थिक वर्षका २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै चालुतर्फ ६ अर्ब ९१ करोड ५५ लाख र पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।

    बजेटको स्रोतमा समानीकरण अनुदान ६ अर्ब ७७ करोड ६७ लाख, सशर्त अनुदान ६ अर्ब ५० करोड १९ लाख रहेको बजेट प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने ६ अर्ब ५७ करोड ६० लाख, समपुरक अनुदान ७१ करोड ४२ लाख, विशेष अनुदान ३५ करोड ५० लाख र आन्तरिक राजस्वबाट प्राप्त १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ पनि बजेटका स्रोत हुन ।

    बजेटमा १ अर्ब ४० करोड रुपैयाँ न्युन हुने भएकाले आर्थिक वर्ष २०७४/०७५ को नगद मौज्दात ६० करोड र आन्तरिक ऋणबाट ८० करोड व्यहोरिने मन्त्री गुरुङले बताउनुभयो ।

    उद्योग क्षेत्रका लागि ५० करोड, पर्यटनलाई ५५ करोड, होमस्टे पूर्वाधारका लागि ३० करोड, कृषि तथा पशुमा १ अर्ब ४० करोड, खानेपानीमा ५२ करोड, सडकलाई ३ अर्ब २० करोड रुपैयाँ छुट्टाइएको छ । साथै सिंचाईलाई ६३ करोड, शिक्षामा ५६ करोड, स्वास्थ्यमा १ अर्ब ६५ करोड बजेट विनियोजन गरिएको छ । 

    बजेटले स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसंग र पालिकाको केन्द्रलाई सडक संजाललाई उच्च प्राथमिकतामा राखि २ अर्ब ६ करोड ६५ लाख विनियोजन गरेको छ । एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रम अन्तर्गत प्रदेशका ३६ निर्वाचन क्षेत्रका लागि जनही २ करोड १० लाख छुट्टाइएको छ ।

    स्थानीय तहसंगको सहलगानीका कार्यक्रममा १ अर्ब १२ करोड, मोटरेवल पुलका लागि ५१ करोड ८५ लाख, झोलुंगे पुलमा ६ करोड २७ लाख, सबै घरमा विजुली पुर्‍याउन ३८ करोड, काठेपोल विस्थापित गरी विद्युतमा स्टिल पोल ल्याउन ५ करोड छुट्टाइएको छ । तटबन्धन निर्माणमा २५ करोड ९५ लाख, फेवातालको पूर्वाधार बिकास र सौन्दर्यकरणका लागि ८ करोड पनि विनियोजन गरिएको छ । 

     

     

    प्रकाशित:असार १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्