उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

एजेन्सी

    असार ५, २०७५

    उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा जानुभएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटवार्ताको एक सातापछि किम २ दिने भ्रमणका लागि आज बेइजिङ पुग्नुभएको हो ।  ३ महिनाको अवधीमा किमको यो तेश्रो चीन भ्रमण हो ।

    चीन भ्रमणका क्रममा नेता किमले राष्ट्रपति सि जिनपिङसँग समेत भेटवार्ता गर्ने दक्षिण कोरियाली समाचारसंस्था योन्हापले जनएको छ । नेता किमले चिनियाँ उच्च अधिकारीहरुसँग आणविक निशस्त्रीकरणको प्रतिबद्धता जनाइसकेको अवस्थामा आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धको बिषयमा छलफल गर्ने अनुमान गरिएको छ ।

    उत्तर कोरियाको व्यापारिक मित्र राष्ट्र चीनले उत्तर कोरियामाथिको नाकावन्दी केही खुकुलो हुनसक्ने बताएको थियो । संयुक्त राष्ट्रसंघ लगायतका  विश्वका अन्य शक्ति राष्ट्रले उत्तरमाथि लगाएको प्रतिबन्धको चीनले पहिलेदेखि नै विरोध गर्दै आएको थियो । यद्यपी केही प्रतिबन्धमा भने चीनले पनि समर्थन जनाएको थियो । 

    यसैबीच, अमेरिका र दक्षिण कोरियाले अर्को संयुक्त सैन्य अभ्यासको तयारी स्थगित गरेका छन् । नेता किमसँग सिंगापुरमा भएको सम्मेलनमा राष्ट्रपति ट्रम्पले जनाएको प्रतिबद्धता अनुसार सैन्य अभ्यासको तयारी स्थगित भएको दुवै राष्ट्रले बताएका छन् । 

    प्रकाशित:असार ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्