नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

    असार ६, २०७५

    - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा गरिने लगानी नाफामुलक हुने भन्दै ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

    चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको नेपाल–चीन विजनेश फोरमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी नाफामूलक हुने बताउनुभयो । उहाँले ऊर्जा, कृषि, पर्यटन, औद्योगिक उत्पादन लगायतका क्षेत्रमा लगानीका लागि नेपाल उर्वर र उपयुक्त भूमि भएको बताउनुभयो ।

    सरकारले विदेशी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि प्रतिबद्ध सरकारले सम्भावना रहेका क्षेत्रमा चिनियाँ लगानी वृद्धि हुने अपेक्षा गरेको बताउनुभयो । हाल नेपालमा दर्ता भएका विदेशी लगानीकर्ताले जग्गा खरिद बिक्री गर्नसक्ने भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच विभेदरहित नीति अपनाएको उहाँले प्रष्ट पार्नुभयो ।

    नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्ट मार्गचित्रसहित समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । चीन नेपालको दोश्रो ठूलो व्यापारिक साझेदारको रुपमा रहेको भन्दै उहाँले  नेपाली उत्पादनका लागि बजारसम्म सहज पहुँच दिन चिनियाँ सरकारलाई आग्रह गर्ने समेत बताउनुभयो ।

     

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्