विदेशमा रहेका नेपालीलाई मताधिकार देऊ – मुख्यमन्त्री गुरुङ

- लालप्रसाद शर्मा, पोखरा

    असार ६, २०७५

    प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले वैदेशिक रोजगारीमा गएका नेपालीलाई मतदान अधिकारको दायरामा ल्याउनु पर्ने बताउनु भएको छ । उहाँले प्रत्यक्ष नभए पनि समानुपातिकतर्फको मतदानमा उनीहरुलाई सहभागी गराउनु पर्ने बताउनुभयो । मताधिकार प्रयोग गर्न पाउने १८ देखि ५० वर्ष उमेरका लाखौ व्यक्ति विदेशमा रहेको र उनीहरुलाई कसरी मतदातामा सामेल गराउने भन्ने चुनौती रहेको उहाँले बताउनुभयो ।

    ‘अमेरिका, युरोपतिर गएर दोहोरो नागरिकता लिएकालाई नभई मलेसिया र खाडी मुलुक गएका र भोलि गाउँ फर्किनेलाई मतदाता परिचय पत्र दिनुपर्‍यो,’ निर्वाचन आयोगद्वारा आयोजित ४ नम्बर प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वदेखि निर्वाचन आयोगले पनि यसबारे सोचेर काम अघि बढाउनु पर्छ ।’

    मुख्यमन्त्री गुरुङले अबको जमाना प्रविधिको भएकाले ईलेक्ट्रीक भोटिङ मेसिनको प्रयोग गर्न पनि सुझाउनुभयो । संघमा ३ र प्रदेशमा डेढ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नु राम्रो भएको उहाँको भनाई थियो ।

    अहिले संघीयताको अभ्यास भईरहेका बेला राष्ट्रपतिय प्रणालीको कुरा उठ्नु बेमौसमको बाजा रहेको उहाँले तर्क गर्नुभयो । देश र परिस्थिति अनुसार शासन प्रणााली अपनाउनु पर्ने भन्दै उहाँले चुनावी प्रचार शैली पनि परिवर्तन गर्नुपर्ने औंल्याउनुभयो । निर्वाचन प्रणालीका कारण भ्रष्टाचार र अनियमितता हुने नहुने निर्भर रहने उहाँको भनाई थियो । 

    निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले छोटो अवधिमा स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न आयोग सफल भएको बताउनुभयो । ‘निर्वाचन नभएको भए संविधान कागजको खोस्टोजस्तै हुने थियो,’ उहाँले भन्नुभयो, ‘प्रयाप्त कानून अभावमा पनि निर्वाचन सफल भयो । यसले राजनीतिक अस्थिरता हुनबाट देश जोगियो ।’ उहाँले १ सय १२ मुलुकमा नेपाली पुगेको र उनीहरुलाई निर्वाचन प्रणालीमा नल्याए उनीहरु माथि अन्याय हुने बताउनुभयो ।  

    आयोगका उपसचिव मुकुन्द शर्माले विगतका निर्वाचनको समीक्षा र आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयमा दुई दिने समीक्षामा छलफल हुने बताउनुभयो । समग्र निर्वाचन प्रणाली र प्रक्रियामा पृष्ठ पोषण लिईने उहाँको भनाई थियो । क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले निर्वाचनले संघीयता कार्यान्वयन, राजनीतिक संक्रमणकालको अन्त्य र मुलुक समृद्धिको यात्रामा अघि बढेको बताउनुभयो । 

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्