प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

बेइजिङ
  • नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डता अक्षुण राख्न साथ दिने सीको प्रतिबद्धता

असार ६, २०७५

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आज दिउँसो भेटवार्ता भएको छ । भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेट गर्नुभएको हो । ग्रेट हल अफ द पिपुलमा दुई देशको प्रतिनिधि मण्डलसहित करीब ५५ मिनेट भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल वार्ता पनि भयो ।

भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण राख्न सधै साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालले एक चीन नीति अख्तियार गरिहरेको र नेपाली भूमिबाट कुनैपनि चीन विरोधी गतिविधि हुन नदिएकोमा उहाँले आभार समेत व्यक्त गर्नुभयो ।

उहाँले नेपालले नयाँ संविधान पाएको र निर्वाचन मार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरेर स्थायित्वतिर अघि बढेकोमा पनि खुशी प्रकट गर्नुभयो । राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र नेपालको विकासमा साझेदार बन्न आफू तयार रहेको बताउनुभयो ।

समकक्षी ली खछ्याङ र ओलीबीच भने भोलि मात्र भेट हुनेछ । लीसँग भोलि अपराह्न ५ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो भेटपछि मात्र दुई देशबीच सहमति र सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । विभिन्न राजनीतिक दलका नेताहरुसंगको कुराकानीपछि प्रधानमन्त्री ओलीले भोलि नै चिनियाँ नेश्नल कंग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

बेईजिङको महत्वपूर्ण भेटघाटपछि ओली नेतृत्वको टोली शुक्रबार तिब्बतको ल्हासा आउनेछ । तीन दिनको तिब्बत बसाईका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न पक्षसंग छलफल गर्नुहुनेछ । त्यस्तै तिब्बतमा रहेका परियोजनाको पनि अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आईतबार काठमाडौं फर्कने छ । 

प्रकाशित:असार ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्